पर्सामा तस्करीको खुलासा: दुई समूहबीच विवादपछि लुटपाट, उतम तिवारीसहित तीनजना पक्राउ



वीरगंज । पर्सा जिल्लाको ग्रामीण क्षेत्र अमरपट्टी सिमानाबाट भइरहेको तस्करीको संगठित गतिविधि बुधबार राति उजागर भएको छ। दुई तस्कर समूहबीच भएको झडप र लुटपाटका कारण यो घटना सार्वजनिक भएको हो।

बुधबार राति सन्दीप तत्वाको समूहले उत्तम तिवारी समूहको सामान लुटेपछि विवाद चर्किएको थियो। विवादका क्रममा झडप हुँदा केही व्यक्ति घाइते भएका छन्। घाइतेलाई उपचारका लागि वीरगंज पठाइएको छ।

प्रहरीले घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा बिन्दवासिनी गाउँपालिका–४ का उत्तम तिवारी, वडा नं. ३ का सन्दीप दास र दीपक साह रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय, पोखरियामा राखिएको प्रहरी निरीक्षक शर्माले बताए

ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक स्वरुप शर्माका अनुसार झैझागडा सम्बन्धी हो , प्रहरी चौकी    अमरपट्टीले पक्राउ गरि पठाइएको हो, अकलेश दासले अमरपट्टी चौकीलाई जानकारी गराएपछि अमरपट्टी चौकीले पक्राउ गरि पठाएको हो, आज दुबै पक्षलाई पोखरियामा छलफलको लागी बोलाइएको छ ।

स्रोतका अनुसार, विवाद आर्थिक लेनदेनको विषयमा भएको थियो। तस्कर समूहबीचको विवादलाई मिलाउन अमरपट्टी प्रहरी चौकीका बरिष्ठ सई मदनबहादुर मल्लले बिहीवार बिहानैदेखि सक्रिय भएर सक्दो प्रयास गरेको थियो तर घटना जति दबाउन र मिलाउन खोजेपनि बाहिर आएको छ । यस घटनालाई नेपाल प्रहरीले नै मिलाउने प्रयास गरेको दाबी गरिएको छ। स्रोतका अनुसार, पर्साका प्रहरी प्रमुख कुमोद ढुङ्गेललाई जानकारी नगराई बरिष्ठ सई मल्लले १६ लाख रुपैयाँसम्मको घुस लिएर तस्करीको लाइन दिएका छन्।

तस्करीका सामग्री र प्रहरीको संलग्नता
अमरपट्टी नाकाबाट लहसुन, अखरोट, पपकर्न, काजु, हड्डी स्क्र्याप, कबाड, कपडा र कुखुराको चल्ला तस्करी भइरहेको खुलासा भएको छ। तस्करी मोटरसाइकल, साइकिल र पिकअप गाडीबाट हुने गरेको छ।

यस अवैध गतिविधिमा स्थानीय प्रहरी र सशस्त्र प्रहरी अधिकारीहरूको संलग्नता रहेको आरोप लागेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका डिएसपी सुशील बस्नेत, अमरपटी बिओपीका इन्स्पेक्टर रबिन ढुङ्गेल, प्रहरी चौकी अमरपटीका वरिष्ठ सई मदन बहादुर मल्लको संलग्नता रहेको स्रोतको दाबी छ। उनीहरूले आर्थिक लाभका लागि तस्करीलाई सहजीकरण गरेको स्रोतले जनाएको छ।

पत्रकारमाथि पनि आरोप
तस्करीको गतिविधि ढाकछोप गर्न केही पत्रकारहरू समेत संलग्न रहेको खुलासा भएको छ। उनले घुमुवा प्रहरी, सशस्त्र प्रहरी, र नेपाल प्रहरीका उच्च अधिकारीहरूसँग नजिकको सम्बन्ध राख्दै तस्करीको सेटिङ मिलाउने गरेको खुलाइएको छ। स्रोतका अनुसार, एक जना पत्रकारले तस्करीको लाइन सेट गर्न र समाचार दबाउन तस्कर समूहबाट ठूलो रकम असुली गरेको आरोप लागेको छ। तर, यसबारे समाचार बाहिर आएपछि तस्कर समूहले पत्रकारको नाममा रकम ठगी गरिएको बताएका छन्।

संगठित गिरोह सक्रिय
भारतका कुख्यात तस्कर विकास कुमारको टोलीले नेपालका तस्करहरूसँग मिलेर पर्सामा संगठित रूपमा तस्करी गरिरहेको स्थानीय स्रोतले जनाएको छ। उनीसँग उत्तम तिवारी, संजय साह, सन्दीप तत्वा, राहुल चतुर्वेदी लगायतका व्यक्तिहरू पनि संलग्न छन्। पर्साको बिन्दबासिनी गाउँपालिका घर भएका उत्तम तिवारी, संजय र राहुल चतुर्वेदी नामक चर्चित तस्कर समूहहरूले अमरपट्टी नाकाबाट कपडा, पपकन बनाउने मकै र चाइनिज लहसुनको तस्करी गरिरहेको स्थानीय प्रत्यक्षदर्शीहरु बताएका छन। अमरपट्टी नाकाबाट मध्यरातीको समयमा कपडा, पपकन बनाउने मकै र चाइनिज लसुनको तस्करी भइरहेको स्थानीयहरुले बताएका छन । अमरपट्टीस्थित रहेको प्रहरी चौकी अगाडी रहेको बाँसबारीको बाटो हुँदै मध्यरातीमा १५/२० जना भरिया परिचालन गरी साईकल र मोटोरसाइकलमार्फत कपडा, पपकन बनाउने मकै र चाइनिज लहसुनको तस्करी भइरहेको प्रहरी स्रोतले समेत बताएको छ ।

यस्तै, अमरपट्टी नाकाबाट कुखुराको चल्ला तस्करीको काम सन्दिप, धर्मेन्द्र, धनन्जय र स्वरुपले गरिरहेका छन । उनिहरुले अमरपटी नाकाबाट चल्लाको ठूलो मात्रामा तस्करी गरिरहेका छन्। पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरू यिनै तस्करीको माध्यमले भित्र्याएका चल्लाबाट सञ्चालन भइरहेको स्थानीयको भनाइ छ। उनिहरुको समूहले भारतीय सीमावर्ती गाउँहरूमा पिकअपबाट झारेर रातिको समय मोटरसाइकल र पैदल भरियाको माध्यमले अमरपटी नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा कुखुराका चल्ला सप्लाई गर्ने गरेको प्रहरी स्रोतले नै बताएको छ। अमरपटी, मधवल, झौवा, ईटियाही, विश्रामपुरलगायत पाँच गाउँमा मात्र ८० देखि १०० वटासम्म कुखुरा फर्म तस्करीकै कुखुरा चल्लाको भरमा चलिरहेका छन्। यस्तै,अमरपट्टी नाकाबाट स्वरुपले कपडाको पनि तस्करी गरिरहेका छन भने जलाउदिनले कबाडको तस्करी गरिरहेको छ ।

यस्तै, अमरपट्टी नाकाबाट भारततर्फ ठूलो मात्रामा हड्डी स्क्रैप (Bone Scrap) तस्करी भइरहेको खुलासा भएको छ। यो अवैध व्यापारमा चर्चित तस्कर भारतीय नागरिक संजय चौरसियाको संलग्नता पाइएको छ। सूचनाका अनुसार, संजय चौरसियाले अमरपट्टी नाकाबाट हड्डी स्क्रैप तस्करी गरिरहेका छन्। वीरगंजको जगरनाथपुरस्थित हड्डी फ्याक्ट्रीबाट कटिङ गरिएको हड्डी स्क्रैप ट्रक र पिकअपमा लोड गरी अमरपट्टी सीमाक्षेत्रमा पुर्‍याइन्छ। त्यहाँबाट दर्जनौं भरियाहरूले साइकलको प्रयोग गरी राति १० बजेदेखि बिहान ४ बजेसम्म सीमापार तस्करी गरिरहेका छन्। नेपालमा प्रति केजी २५–३० रुपैयाँमा खरिद गरिएको हड्डी स्क्रैप भारतमा प्रति केजी ५० रुपैयाँमा बेच्ने गरिएको छ। यस तस्करीबाट तस्करहरूले ठूलो आर्थिक फाइदा उठाइरहेका छन्।

पर्साको तस्करी नियन्त्रणमा प्रहरीको प्रभावकारी कदमको आवश्यकता रहेको भन्दै स्थानीयवासीले ध्यानाकर्षण गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धर्मेन्द्र प्र. यादव

लेखकको बारेमा

धर्मेन्द्र प्र. यादव

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज