वीरगञ्ज। पर्सामा करिब सवा तिन क्विन्टल चरेससहित एकजना पक्राउ परेका छन् ।
जिल्लाको वीरगञ्ज २१ परवानिपुरबाट प्रहरीले तीन क्विन्टल १७ किलो ५ सय ग्राम प्रतिबन्धित लागू औषध चरेससहित प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको ट्रक र चालक मकवानपुरका बुद्धि बहादुर स्याङ्तानलालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मकवानपुरबाट ठूलो परिमाणमा वीरगञ्ज सहरतर्फ ठूलो मात्रामा लागू औषध चरेस आइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी परवानिपुरको संयुक्त टोलीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले परवानीपुरबाट ड्राईपोटतर्फ जाँदै गरेको प्रदेश २ ०३ ००१ ख ६३४८ नम्बरको ट्रकलाई जाँज गर्ने क्रममा ट्रकको पछाडीको ढालामा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी चालक स्याङ्तानलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका चालक थाहा नगरपालिका–१२ बस्ने ३६ वर्षीय स्याङ्तानको साथबाट नगद एक लाख बयानब्बे हजार समेत बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई हिरासतमा राखी प्रहरीले थप अनुसन्धान थालेको छ ।