जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शम्सेर ज.ब.रा. लाई २०८२ साल मंसिर महिनाको उत्कृष्ट प्रहरी (Police of the Month) घोषित गरेको छ।
प्रहरी चौकी जनकपुरधाममा कार्यरत सागर शम्सेरले अपराध नियन्त्रण तथा अनुसन्धानमा देखाएको सक्रियता र प्रभावकारीताका कारण यस सम्मान पाएका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार, मिति २०८२/०७/२८ मा मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा वडा अध्यक्ष बिन्देश्वर यादवमाथि गोली प्रहार गरी हत्या गर्ने घटनामा संलग्न १२ जनामध्ये चार जनालाई पक्राउ गर्न सागर शम्सेरले निर्णायक भूमिका खेलेका थिए।
त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिका–११ मा घटेको जबर्जस्ती करणीसम्बन्धी घटना तथा जनकपुरधाम–१० स्थित एक होटलमा घटेको नाबालिकासम्बन्धी गम्भीर अपराधमा फरार प्रतिवादीहरूको पक्राउमा पनि उनले सक्रिय अनुसन्धानमार्फत सफलता हासिल गरेका छन्।
सागर शम्सेरले २०८२ सालको राम–सीता विवाह पञ्चमी मेलाको अवधिभर शान्ति–सुरक्षा कायम राख्न समेत महत्वपूर्ण योगदान पुर्याएका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले भने,
“सागर शम्सेरको उत्कृष्ट कार्यले आम नागरिकमा प्रहरीप्रतिको विश्वास र सकारात्मक सोच अभिवृद्धि भएको छ। उनी प्रहरी संगठनको छवि उकास्न उदाहरणीय योगदान दिएका छन्।”
यसरी, उच्च व्यवसायिकता, इमान्दारिता र कुशलताका साथ जिम्मेवारी निर्वाह गरेका सागर शम्सेर धनुषा जिल्लाका प्रहरी समुदायमा आदर्श र प्रेरणाको स्रोत बनेका छन्।