पर्सामा सशस्त्र प्रहरीद्वारा भारतबाट भित्र्याइँदै गरेका १० हजार प्रतिबन्धित ब्रोइलर चल्ला नष्ट



वीरगंज । सशस्त्र प्रहरी बल नेपालले पर्सा जिल्लामा भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको ठूलो परिमाणको प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिई नष्ट गरेको छ।

आइतबार सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले पर्साको जगरनाथपुर गाउँपालिका–५ मसियानी क्षेत्रमा भारतबाट चोरी पैठारी गरी नेपालतर्फ ल्याइँदै गरेको १० हजार गोटा ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको हो। ती चल्ला ९ जना व्यक्तिले टाउकोमा बोकी नेपाल भित्र्याउँदै गरेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको चल्लाको अनुमानित मूल्य रु. ५ लाख बराबर रहेको बताइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उक्त चल्लालाई नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिको रोहबरमा सशस्त्र प्रहरी बल नं. १३ गण परिसरभित्र नष्ट गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) विश्वराज योञ्जनले अवैध रूपमा भित्र्याइने पशुपंक्षी तथा तिनका उत्पादनले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने भएकाले कडाइका साथ कारबाही गरिएको जानकारी दिनुभयो।

यसैगरी, नं. १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टले अवैध आयात–निर्यातका कारण पशुजन्य रोग फैलिने जोखिम बढ्नुका साथै स्वदेशी कृषक र व्यवसायीहरू आर्थिक रूपमा क्षतिग्रस्त हुने र राज्यलाई राजस्व हानी हुने बताउनुभयो।

“सीमावर्ती क्षेत्र हुँदै हुने अवैध पशुपंक्षी आयातले दीर्घकालीन रूपमा राष्ट्रिय अर्थतन्त्र र कृषि प्रणालीमा नकारात्मक असर पार्छ,” एसपी भट्टले भन्नुभयो, “यस प्रकारका गैरकानुनी गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी अझ कडा बनाएको छ।”

उहाँले सर्वसाधारणलाई यस्ता अवैध कार्यमा संलग्न नहुन आग्रह गर्दै आगामी दिनमा पनि सीमावर्ती क्षेत्रमा अवैध आयात–निर्यातविरुद्ध कडा निगरानी र कारबाही निरन्तर जारी रहने स्पष्ट पार्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज