२५ औँ सशस्त्र प्रहरी बल दिवसमा पर्साका १३२ विपन्न परिवारलाई कम्बल वितरण



वीरगंज । २५ औँ सशस्त्र प्रहरी बल दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरी बल नेपालले पर्सा जिल्लामा विपन्न तथा सीमान्तकृत समुदायलाई लक्षित गर्दै कम्बल वितरण कार्यक्रम सम्पन्न गरेको छ। चिसो मौसम र शीतलहरका कारण प्रभावित नागरिकलाई राहत प्रदान गर्ने उद्देश्यले आइतबार उक्त कार्यक्रम आयोजना गरिएको हो।

रोटरी क्लब अफ वीरगंज, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) रोटरी वर्ष २०२५/२६ तथा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रमअन्तर्गत पर्सा जिल्लाका चारवटा गाउँपालिकाका विभिन्न बस्तीमा रहेका विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल गुल्म लहावरथकरीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) लोकनाथ उप्रेतीका अनुसार छिपहरमाई गाउँपालिकामा ७१ घरपरिवारलाई कम्बल वितरण गरिएको छ।

त्यसैगरी, जिराभवानी गाउँपालिका–१ महादेवपट्टीमा १५ घरपरिवार, जगरनाथपुर गाउँपालिका–१ पिडारीगुठीमा १५ घरपरिवार तथा धोबिनी गाउँपालिका–२ भिखमपुरमा ३१ घरपरिवारलाई कम्बल वितरण गरिएको छ। भिखमपुर गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) दिनेश आचार्यका अनुसार यी स्थानमा जम्मा ६१ थान कम्बल वितरण गरिएको हो।
समग्रमा चारवटा गाउँपालिकाका गरी जम्मा १३२ घरपरिवारलाई कम्बल वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

कम्बल वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, समाजसेवी तथा स्थानीय भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सशस्त्र प्रहरी बलले २५ औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै विपन्न समुदायलाई लक्षित गरी राहत कार्यक्रम सञ्चालन गरेकोमा प्रशंसा गरेका छन्।

२५ औँ सशस्त्र प्रहरी बल दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल र विभिन्न सामाजिक संस्थाबीचको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले चिसोबाट प्रभावित नागरिकलाई राहत मिल्ने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज