पत्रकारलाई गालीगलौज गरेको आरोपमा मण्डल पक्राउ

न्यूज डेस्क
२०८३ आश्विन १४, बुधबार २३:२७ बजे

जनकपुरधाम, १४ असोज । पत्रकारको अनुमतिबिना भिडियो प्रयोग गरी सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्तिगत तथा व्यवसायिक प्रतिष्ठामा आँच पुर्याउने किसिमका सामग्री निरन्तर सार्वजनिक गरेको आरोपमा धनुषामा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–२४ का ३६ वर्षीय दीपक श्रेष्ठ मण्डललाई पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा ‘डीएस मण्डल’ नामबाट सामग्री सार्वजनिक गर्दै आएका उनलाई जनकपुरधामस्थित एक होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी उपरीक्षक रुपेश श्रेष्ठले मण्डल पक्राउ परेको पुष्टि गरेका छन् । उनका अनुसार मण्डलविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा उजुरी परेपछि अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई नियन्त्रणमा लिइएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाकी एक पत्रकारले मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी थिइन् । उनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाहीको माग गर्दै भदौ २४ गते जाहेरी दिएकी थिइन् ।

जाहेरीमा मण्डलले सञ्चालन गर्ने फेसबुक अकाउन्टबाट आफ्नो अनुमतिबिना भिडियो प्रयोग गरी व्यक्तिगत तथा व्यवसायिक प्रतिष्ठामा आँच पुर्याउने, चरित्र हत्या तथा मानहानि हुने किसिमका सामग्री पटकपटक सार्वजनिक गरेको आरोप लगाइएको छ ।

जाहेरीकर्ताले सामाजिक सञ्जालमा प्रकाशित सामग्रीमार्फत आफ्नो पत्रकारिताको सत्यता, नैतिकता तथा पेशागत आचरणमाथि प्रश्न उठाउने, व्यंग्य गर्ने र सर्वसाधारणमा आफ्नो पेशागत विश्वसनीयताप्रति नकारात्मक धारणा सिर्जना गर्ने प्रयास गरिएको दाबी गरेकी छन् ।

जाहेरीमा मण्डलले आफूलाई मात्र नभई समग्र पत्रकार तथा पत्रकारिता क्षेत्रलाई लक्षित गरी विभिन्न आपत्तिजनक शब्द तथा अभिव्यक्ति प्रयोग गर्दै आएको आरोप लगाइएको छ ।

जाहेरीमा ‘बिकाउ कलम’, ‘स्वार्थको पहरेदारी’ जस्ता शब्द प्रयोग गरी पत्रकारहरूको पेशागत मर्यादा र प्रतिष्ठामाथि प्रश्न उठाउने सामग्री सामाजिक सञ्जालमा निरन्तर पोस्ट गर्ने गरिएको उल्लेख छ ।

त्यस्तै, ‘जनकपुरधाममा केही बिकाउ कलम फेरि सक्रिय!’ जस्ता शीर्षकमा सामग्री सार्वजनिक गरी पत्रकारिता र पत्रकारहरूको निष्ठामाथि सार्वजनिक रूपमा प्रश्न उठाइएको जाहेरीमा दाबी गरिएको छ ।

जाहेरीकर्ताका अनुसार यस्ता सामग्रीले पत्रकारिताको आलोचना गर्ने सामान्य अधिकारको सीमाभन्दा बाहिर गएर व्यक्तिगत तथा पेशागत प्रतिष्ठामाथि असर पार्ने किसिमको सामग्री सार्वजनिक गरेको आरोप छ ।

जाहेरीमा महिला पत्रकारहरूलाई समेत सामाजिक सञ्जालमार्फत लक्षित गरिएको आरोप लगाइएको छ ।

महिला पत्रकारहरूको व्यक्तिगत विषयलाई पत्रकारितासँग जोडेर सामाजिक सञ्जालमा प्रस्तुत गर्ने, व्यंग्य गर्ने तथा बदनाम हुने किसिमका अभिव्यक्ति सार्वजनिक गरिएको दाबी जाहेरीमा गरिएको छ ।

जाहेरीकर्ताले पत्रकारको व्यक्तिगत जीवन तथा निजी विषयलाई अनावश्यक रूपमा सार्वजनिक गर्दै त्यसलाई पेशागत पहिचानसँग जोडेर प्रस्तुत गर्दा महिला पत्रकारहरूको सामाजिक तथा व्यावसायिक प्रतिष्ठामा समेत असर पर्न सक्ने उल्लेख गरेकी छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका सामग्री अन्य व्यक्तिले समेत प्रतिक्रिया, साझा तथा टिप्पणी गर्न सक्ने भएकाले त्यसको पहुँच र प्रभाव व्यापक हुन सक्ने जाहेरीमा उल्लेख छ ।

जाहेरीकर्ताको जाहेरीको मुख्य विषयमध्ये आफ्नो अनुमतिबिना भिडियो प्रयोग गरिएको विषयसमेत रहेको छ ।

उनका अनुसार मण्डलले आफ्नो फेसबुक अकाउन्टबाट उनको भिडियो प्रयोग गरी त्यसलाई आरोपात्मक तथा व्यंग्यात्मक सामग्रीसँग जोडेर सार्वजनिक गरेका थिए ।

भिडियोसँगै पत्रकारिता र समाचारको सत्यता तथा नैतिकतामाथि प्रश्न उठाउने किसिमका अभिव्यक्ति सार्वजनिक गरिएको र त्यसबाट आफ्नो पेशागत छवि तथा विश्वसनीयतामा असर पुगेको जाहेरीमा उल्लेख छ ।

जाहेरीकर्ता पत्रकारले मण्डलको फेसबुक पोस्टका स्क्रिनसटलाई प्रमाणका रूपमा प्रहरीसमक्ष पेश गरेकी थिइन् ।

जाहेरीमा फेसबुक पोस्टमार्फत आफूलाई बदनाम गर्ने, समाजमा आफ्नो बारेमा नकारात्मक धारणा फैलाउने तथा विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गर्ने कार्य भएको आरोप लगाइएको छ ।

जाहेरीकर्ताले मण्डलको गतिविधि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत दण्डनीय कसुर भएको दाबी गर्दै कानुनबमोजिम कारबाहीको माग गरेकी थिइन् ।

प्रहरीले जाहेरीपछि घटनासँग सम्बन्धित सामाजिक सञ्जालका सामग्री, पोस्ट तथा उपलब्ध प्रमाणमाथि अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीका अनुसार मण्डलविरुद्ध उजुरी परेपछि अनुसन्धानका क्रममा अदालतबाट पक्राउ पुर्जी लिइएको थियो । पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।

खोजीका क्रममा मण्डललाई जनकपुरधामस्थित एक होटलबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

पक्राउपछि उनलाई प्रहरी कार्यालयमा राखेर सामाजिक सञ्जालमार्फत भएका गतिविधि, पोस्टको प्रकृति, भिडियो प्रयोग, त्यसको उद्देश्य तथा जाहेरीमा उल्लेख गरिएका अन्य आरोपबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्