वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवको सोमबार बिदाई गरिएको छ भने नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुनिल केशरीलाई स्वागत गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ २९ गते गरेको उपसचिव तथा अधिकृतहरूको सरुवाअन्तर्गत यादवको जगरनाथपुर गाउँपालिकाबाट बाराको विश्रामपुर गाउँपालिकामा सरुवा भएको हो । बिश्रामपुर जान लागेका यादवलाई जगरनाथपुर गाउँपालिकाकाले एक कार्यक्रमबिच सम्मान सहित बिदाई गरेकाे गाउँपालिकाका कर्मचारी मन्जय गिरीले जानकारी दिए ।
विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका केशरीको जगरनाथपुर गाउँपालिकामा सोमबार हाजिर भएपछि उनकाे स्वागत गरिएको गाउँपालिकाले जनाएकाे छ ।
गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष श्रीकान्त प्रसाद यादव, उपाध्यक्ष बविता सिंह क्षेत्री, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारीलगायतले यादवलाई बिदाई गर्दै आगामी कार्यकालका लागि शुभकामना दिएका थिए । सोही अवसरमा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत केशरीलाई स्वागत गर्दै गाउँपालिकाको प्रशासनिक तथा विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउन अपेक्षा व्यक्त गरिएको थियो ।
बिदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष यादवले प्रमुख प्रशासकीय अधिकृतका रूपमा यादवले गाउँपालिकाको प्रशासनिक तथा विकासका काममा पुर्याएको योगदानको प्रशंसा गर्दै नयाँ जिम्मेवारीका लागि शुभकामना दिए । उनले कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यबाट गाउँपालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत केशरीले गाउँपालिकाको विकास, सेवा प्रवाह र प्रशासनिक कामलाई प्रभावकारी बनाउन जनप्रतिनिधि तथा कर्मचारीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले दुवै अधिकृतलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।


तपाईको प्रतिक्रिया !