वीरगञ्ज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको गाउँकार्य समिति सर्वसम्मत चयन भएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न गाउँपालिका अधिवेशनबाट धुरेन्दर साह कानु पुनः गाउँपालिका सभापतिमा सर्वसम्मत चयन भएका हुन्।
कानु यसअघि पनि नेपाली कांग्रेस छिपहरमाई गाउँपालिका समितिको सभापति थिए। पुनः सभापतिमा चयन भएसँगै उनले गाउँपालिकामा कांग्रेसको नेतृत्व दोस्रो कार्यकालका लागि सम्हाल्ने भएका छन्।
अधिवेशनबाट रबिन्द्र यादव उपसभापति र पप्पु कुमार यादव सचिवमा सर्वसम्मत चयन भएका छन्। सभापति, उपसभापति, सचिव र सहसचिवसहित २० सदस्यीय गाउँकार्य समिति सर्वसम्मत चयन गरिएको कांग्रेसले जनाएको छ।
नेतृत्व चयनका क्रममा सहमति र सहकार्यलाई प्राथमिकता दिँदै नयाँ कार्यसमिति गठन गरिएको हो। निर्वाचन प्रक्रियामा नजाँदै सर्वसम्मत रूपमा नेतृत्व चयन भएपछि गाउँपालिकामा पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने वातावरण बनेको कांग्रेसका स्थानीय नेताहरूले बताएका छन्।
नवनिर्वाचित कार्यसमितिले गाउँपालिकाका सबै वडा तथा टोल तहसम्म संगठनलाई थप सक्रिय बनाउने, कार्यकर्ताबीच समन्वय र सहकार्य बढाउने तथा पार्टीका नीति, विचार र कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्याउने लक्ष्य लिएको छ।
अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका जिल्ला सहसचिव नवीन सिंहले गरेका थिए। कार्यक्रममा कांग्रेसका जिल्ला तथा स्थानीय तहका नेता, कार्यकर्ता, प्रतिनिधि तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
गाउँपालिका अधिवेशन सम्पन्न भएसँगै नेपाली कांग्रेस छिपहरमाईको गाउँपालिका तहको संगठनात्मक प्रक्रिया पूरा भएको छ। पुनः सर्वसम्मत रूपमा नेतृत्व चयन भएपछि कानुको नेतृत्वमा स्थानीय संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने अपेक्षा कांग्रेसका स्थानीय नेताहरूले गरेका छन्।


तपाईको प्रतिक्रिया !