धोबिनीमा राति घर प्रवेश गरी ५५ वर्षीया महिलाको हत्या, लाखौँका गरगहना चोरी

न्यूज डेस्क
२०८३ आश्विन ५, सोमबार १९:४५ बजे

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा ५५ वर्षीया महिला घरभित्र मृत अवस्थामा फेला परेकी छन् । मृतक स्थानीय श्रीनिवास तुराहाकी श्रीमती लखराव देवी हुन् ।

आइतबार राति तीन तल्ले पक्की घरमा श्रीनिवास र उनकी श्रीमती छुट्टाछुट्टै तल्लामा सुतेका थिए । श्रीनिवास पहिलो तल्लामा र लखराव देवी दोस्रो तल्लामा सुतेकी थिइन् । रातिको समयमा अज्ञात समूह छिमेकीको घरतर्फबाट झ्याल तोडेर दोस्रो तल्लामा प्रवेश गरेको र घरभित्र दराज फाेडेर गरगहना चाेरी गरि लगेकाे स्थानीयले बताएका छन् ।

सोमबार बिहान नियमित रूपमा पूजा गर्न श्रीमती नआएपछि श्रीनिवास माथिल्लो तल्लामा पुग्दा लखराव देवी मृत अवस्थामा फेला परेकी थिइन् । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय लंगडी, इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव परीक्षणका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाएको छ ।

स्थानीयले घरमा चोरीसमेत भएको र लाखौँ रुपैयाँ मूल्य बराबरका गरगहना चोरी भएको बताएका छन् । तर प्रहरीले भने चोरी भएको विवरण अहिलेसम्म प्राप्त नभएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले धोबिनीस्थित एक घरमा ५५ वर्षीया महिला मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताए । उनका अनुसार घरको झ्याल र दराज तोडिएको जानकारी प्राप्त भए पनि चोरी भएको विवरण प्राप्त भइसकेको छैन ।

मृतक लखराव देवीका दुई छोरा र दुई छोरी रहेका छन् । उनका छोराहरू व्यवसायको सिलसिलामा काठमाडौंमा बस्दै आएको स्थानीयले बताएका छन् । घटनापछि गाउँमा त्रासको वातावरण सिर्जना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्