रौतहट । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेश सरकार सुशासनको बाटोमा अघि बढिरहेको बताउनुभएको छ। आइतबार साँझ रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकारमा व्याप्त बेथिति न्यूनीकरण गर्दै पारदर्शी रूपमा नियम–कानुनको पूर्ण पालना गरी अघि बढिरहेको बताउनुभयो। प्रदेशवासीलाई सुशासनको अनुभूति गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले चालु आर्थिक वर्षमा टेन्डर प्रक्रियामार्फत निर्माण कार्यको थालनी भइसकेको जानकारी दिनुभयो।
मधेश प्रदेशमा दातृ निकायको सहयोगमा समेत केही ठुला परियोजना ल्याउन सफल भएको उहाँले बताउनुभयो। प्रदेशलाई समृद्ध बनाउन जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैंक (एडीबी) ले एक खर्ब रुपियाँ सहयोग गर्न लागेको बताउँदै उहाँले यस परियोजनाले प्रदेशमा ठुलो परिवर्तन ल्याउने सम्भावना रहेको बताउनुभयो।
जनकपुरका पर्यटकीय स्थलको विकासमा टेवा पुर्याउन आफूले दातृ निकायसँग कुराकानी गरिरहेको बताउँदै उहाँले छिट्टै यसका लागि २०–२५ अर्ब रुपैयाँको परियोजना सुरु हुने बताउनुभयो।
मधेशमा ९० प्रतिशत जनता कृषिमा निर्भर रहेको बताउँदै मुख्यमन्त्री यादवले कृषिमा सरकारको मुख्य ध्यान रहेको बताउनुभयो। स्वास्थ्य क्षेत्रमा व्यापक सुधारका लागि प्रदेश सरकार अघि बढेको बताउँदै उहाँले चिकित्सक, औषधि तथा उपकरणलगायतको व्यवस्थापनमा प्रदेश सरकार लागिरहेको जानकारी दिनुभयो।
मधेश प्रदेशमा सरुवा व्यवस्थित नभएको, काखापाखा हुने गरेको र दरबन्दीअनुसार कार्यालय प्रमुख हुने नगरेको लगायतका विगतका परिपाटीलाई अन्त्य गर्दै सरुवालाई पारदर्शी तथा निष्पक्ष बनाइएको उहाँले स्पष्ट पार्नुभयो।
दरबन्दीअनुसार कार्यालय प्रमुख पठाउनेदेखि लिएर दुई वर्ष पूरा भएका सबै कर्मचारीलाई सरुवा गर्ने नीतिअनुसार प्रदेश सरकार अघि बढेको मुख्यमन्त्री यादवले बताउनुभयो। अस्थायी प्रकृतिका कार्यालय गाभ्ने कार्यमा समेत प्रदेश सरकार अघि बढेको उहाँले जानकारी दिनुभयो।
गठबन्धन बलियो रहेको तथा गठबन्धनमा कुनै मतभेद नरहेको बताउँदै मुख्यमन्त्री यादवले प्रदेशवासीको मर्म र भावनाअनुसार प्रदेश सरकार सही दिशामा अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।


तपाईको प्रतिक्रिया !