काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिम लुम्बिनीका बलरसामु टिक्न नसक्दा १७ ओभर २ बलमा ८७ रनमै समेटियो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
लुम्बिनीका बलर किशोर महतोले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए भने शेर मल्लले ३ विकेट हात पारे। उनीहरूको प्रभावकारी बलिङका कारण सुदूरपश्चिमले ठूलो योगफल बनाउन सकेन।
जवाफमा ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ ओभर ५ बलमै ३ विकेट गुमाएर जित सुनिश्चित गर्यो। टोलीका डार्सी सर्टले ४० रन र आशिफ शेखले ३२ रन बनाउँदै जितलाई सहज बनाए। सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे।
गत संस्करणको फाइनलमा प्रतिस्पर्धा गरेका यी दुई टोलीबीचको नयाँ सिजनको पहिलो भिडन्तमा पनि लुम्बिनीले बाजी मारेको छ। यस जितसँगै लुम्बिनीले उपाधि रक्षा गर्ने अभियानमा आत्मविश्वासपूर्ण सुरुवात गरेको छ।
प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुँदैछन्। पहिलो खेलमा चितवन राइनोज र विराटनगर किङ्स दिउँसो १२ः३० बजे आमनेसामने हुनेछन्। दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।


तपाईको प्रतिक्रिया !