काठमाडौँ। मधेसको राजनीतिमा नयाँ पुस्ताको नेतृत्व स्थापित हुनुपर्ने आवाज उठ्न थालेको छ। पुराना मधेसी दल तथा नेतृत्वप्रति जनताको विश्वास कमजोर हुँदै गएको भन्दै युवाहरूले राजनीतिक पुस्तान्तरणको मागसहित विभिन्न अभियान सञ्चालन गर्न थालेका छन्।
जेनजी आन्दोलनपछि देशका विभिन्न राजनीतिक दलमा पुस्तान्तरणको बहस चलिरहेका बेला मधेसवादी दलहरूमा पनि नयाँ नेतृत्वको दबाब बढ्दै गएको छ। यही मागलाई अघि सार्दै तराई–मधेसका केही युवाले ‘हुङ्कार मधेस’ गठन गरी अभियान सञ्चालन गरिरहेका छन्।
त्यस्तै, शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानले पनि मधेसको नेतृत्वमा युवाको सहभागिता र पुस्तान्तरण आवश्यक रहेको भन्दै ‘मधेस अबको बाटो’ अभियान सुरु गरेको छ। प्रतिष्ठानले तराई, काठमाडौँसहित मधेसका विभिन्न जिल्लामा युवासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ।
यसैक्रममा सामाजिक अभियन्ता सञ्जय यादवको अगुवाइमा कलैयामा आयोजित कार्यक्रममा मधेस आन्दोलनको इतिहास, उपलब्धि, चुनौती तथा आगामी दिनमा मधेसले लिनुपर्ने राजनीतिक र सामाजिक दिशाबारे छलफल गरिएको थियो। सहभागीहरूले मधेसको राजनीतिमा पुस्तान्तरण आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा नागरिक अगुवा उमेशलाल दासले वर्तमान सरकारले मधेसका एजेन्डा सम्बोधन नगरे मधेसी युवाले अरूको मुख नताकी आफैँ नेतृत्व लिनुपर्ने बताएका थिए।
जनता समाजवादी पार्टीबाट हालै विद्रोह गरेका मधेस प्रदेशका पूर्वसांसद विक्की यादवले मधेसको विकल्प मधेस नै भएको उल्लेख गर्दै युवाहरूले आ–आफ्नो ठाउँबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। उनले मधेसी राजनीतिमा पुस्तान्तरणको आवश्यकता औँल्याएका थिए।
त्यस्तै, अधिवक्ता आनन्द गुप्ताले जेनजी आन्दोलनपछि देशको राजनीतिमा परिवर्तन आएको र पुराना राजनीतिक दल तथा नेतृत्वप्रतिको विश्वास कमजोर भएको धारणा राखेका थिए। उनले मधेसी युवाले मधेसको राजनीतिलाई पुनर्जीवित, पुनर्गठित र पुनर्परिभाषित गर्न संगठित प्रयास गर्नुपर्ने बताएका थिए।
स्थानीय महिला नेतृ हिरमति कुशवाहाले पनि मधेसमा स्वच्छ छवि भएका नेतृत्वको आवश्यकता रहेको बताएकी थिइन्।
मधेस आन्दोलनबाट स्थापित राजनीतिक उपलब्धिलाई जोगाउँदै बदलिँदो राजनीतिक परिवेशअनुसार नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बहससँगै मधेसमा युवाहरूको सक्रियता बढ्न थालेको छ।


तपाईको प्रतिक्रिया !