आईजीपी नियुक्तिमा सरकार र रास्वपाका प्रवक्ताको फरक धारणा, पार्टीको निर्देशनबारे विवाद

NEWS DESK
२०८३ कार्तिक १९, बिहिवार ०९:०८ बजे

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयपछि सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताबीच फरक–फरक धारणा सार्वजनिक भएको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बदलिँदो परिस्थिति र संवेदनशीलतालाई ध्यानमा राख्दै पार्टीकै निर्देशन तथा सल्लाहअनुसार कार्कीको जिम्मेवारी हेरफेर गरिएको बताउनुभएको थियो।

उहाँका अनुसार कार्कीलाई हटाउने निर्णय कुनै कारबाही नभई जिम्मेवारी परिवर्तन मात्र हो। कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको जानकारीसमेत उहाँले दिनुभएको थियो।

तर, रास्वपाका प्रवक्ता जगदीश खरेलले भने कार्कीलाई आईजीपी पदबाट हटाउने सरकारको निर्णयमा पार्टीको कुनै निर्देशन वा हस्तक्षेप नरहेको दाबी गर्नुभएको छ।

खरेलका अनुसार सरकार सञ्चालनमा पार्टीले प्रधानमन्त्रीलाई सहयोग गर्ने भए पनि कुनै व्यक्तिलाई पदमा राख्ने वा हटाउने विषयमा निर्देशन दिने काम पार्टीले गर्दैन।

सरकारका प्रवक्ताले पार्टीकै निर्देशनमा निर्णय भएको दाबी गर्नु र पार्टी प्रवक्ताले त्यसलाई अस्वीकार गर्नुले आईजीपी नियुक्तिको निर्णय प्रक्रिया र त्यसको आधारबारे थप प्रश्न उठाएको छ।

यसैबीच, नवनियुक्त आईजीपी डा. मनोज केसीले बुधबार साँझ प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हाल्नुभएको छ। उहाँलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो। यससँगै गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिने परम्परासमेत तोडिएको छ।

इनम सापकोटाको अनुसन्धान र पछिल्लो विकसित घटनाक्रमका बीच प्रहरी संगठन सञ्चालनमा राजनीतिक हस्तक्षेप भएको आरोप उठिरहेका बेला सरकारले कार्कीलाई जिम्मेवारीबाट हटाएर केसीलाई नयाँ आईजीपी नियुक्त गरेको हो।

यसअघि रास्वपाले पत्रकार पक्राउ तथा धरपकडका घटनाबारे सरकारसँग जवाफ मागेको थियो। प्रहरी संगठनको नेतृत्व परिवर्तनसँगै सरकार र सत्तारूढ दलबीचको भूमिकाबारे पनि बहस सुरु भएको छ।

उल्लेखनीय छ, तत्कालीन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले वरीयतामा पहिलो नम्बरमा रहेका दानबहादुर कार्कीलाई आईजीपी नियुक्त गरेको थियो। त्यतिबेला दोस्रो वरीयतामा राजन अधिकारी र तेस्रो वरीयतामा मनोज केसी रहनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्