वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको आधिकारिक वेबसाइट सर्वसाधारणका लागि अस्थायी रूपमा बन्द गरिएको छ। प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण महानगरपालिकाले आफ्नो वेबसाइटको सञ्चालन केही समयका लागि स्थगित गरेको हो।
महानगरपालिकाको प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख कीर्तिराज सुवेदीद्वारा जारी सूचनाअनुसार विश्वव्यापी रूपमा देखिएको PHP सम्बन्धी सुरक्षा समस्याका कारण पुरानो प्रविधिमा आधारित वेबसाइट बन्द गर्नुपरेको हो।
प्राविधिक मूल्याङ्कनअनुसार वेबसाइटलाई नयाँ PHP संस्करणसँग अनुकूल नबनाई तथा आवश्यक सुरक्षा अपडेट नगरी सञ्चालन गर्दा ह्याकिङ, डाटा चोरी र महत्त्वपूर्ण विवरण नष्ट हुने जोखिम रहेको छ।
वेबसाइटको पूर्ण डेटा सुरक्षा सुनिश्चित नगरी पुनः सञ्चालनमा ल्याउनु उपयुक्त नदेखिएकाले सावधानीस्वरूप सेवा अस्थायी रूपमा बन्द गरिएको महानगरपालिकाले जनाएको छ।
वेबसाइट बन्द रहेको अवधिभर महानगरपालिकाका सम्पूर्ण सूचना, आधिकारिक जानकारी तथा सार्वजनिक सामग्रीहरू आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने जनाइएको छ।
महानगरपालिकाले नगरवासी, सेवाग्राही तथा सम्पूर्ण सरोकारवालालाई नयाँ सूचना तथा जानकारी प्राप्त गर्न महानगरको आधिकारिक फेसबुक पेज नियमित रूपमा हेर्न अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया !