२०७९ फाल्गुन २९, सोमबार १३:१९ बजे

काठमाडौं– केही दिनअघि सशस्त्र प्रहरीको बर्दी र इन्स्पेक्टरको दर्ज्यानी चिह्न लगाएका एक व्यक्ति इलाका प्रहरी कार्यालय आरुघाट गोरखा पुगे।

‘म गोरखा गुल्मको सशस्त्रको इन्स्पेक्टर हुँ’ भन्दै ती व्यक्तिले उक्त प्रहरी कार्यालयमा परेको एक निवेदनको छलफल गर्नुपर्ने भन्दै निवेदनलाई प्रभावित पार्न खोजे।

सशस्त्रको इन्स्पेक्टर बताउँदै रवाफ देखाएपछि प्रहरीहरु पनि छक्क परेका थिए। त्यसपछि इन्स्पेक्टर बताउने ती व्यक्तिको खोजी हुँदा पत्ता लाग्यो, उनी इन्स्पेक्टर नभई सशस्त्रका जवान रहेछन्।

जवान भएर इन्स्पेक्टर बर्दी लगाउँदै रवाफ देखाउने ती व्यक्ति हुन् सन्दीपकुमार साह। उनी सशस्त्रको नम्बर १९ गण (विशेष कार्यदल) बंगलामुखी काठमाडौंमा कार्यरत थिए। १० दिनको घर बिदा स्वीकृत गराएर अफिसबाट बिदा भएका उनी प्रहरी कार्यालय पुगेर धम्क्याएको पाइएपछि निलम्बन गरिएको सशस्त्रका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए।

आरुघाट गाउँपालिका–३ थुमी बस्ने १५ वर्षीया सुस्मिता बराम फागुन १५ देखि १९ गतेसम्म गोरखा सदरमुकाममा राष्ट्रपति रनिङ शिल्ड खेल्नका लागि गएकी थिइन्। त्यसपछि उनी घर फिर्ता नभई सोही ठाउँको श्यामम्राङ बस्ने हिराबहादुर बरामले ललाई फकाई आफूसँग लगेको भन्ने निवदेन इलाका प्रहरी कार्यालय आरुघाटमा परेका थियो।

सुस्मिता बरामका बुवाले नाबालिका छोरीलाई ललाई फकाई लैजाने हिराबहादुर बराम उपर कारबाही गरी पाउँ भनी निवेदन दिएपछि दुवै पक्षलाई आवश्यक अनुसन्धानको लागि उक्त प्रहरी कार्यालयमा झिकाइएको थियो।

सशस्त्र प्रहरी जवान साहले सुस्मिता बरामको बुवा मेरो ससुरा र हराएकी सुस्मिता बराम मेरो साली हो, उक्त केशमा आएको हुँ भनी इलाका प्रहरी कार्यालय आरुघाट पुगेको थिए।

घटनालाई प्रभावित पार्न र सालीको पक्षमा वकालत गर्न गएको भन्ने बुझिएको र दर्ज्यानी चिह्न सहितको बर्दी दुरुपयोग समेत गरेपछि सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद १३ को नियम ११६ को उपनियम १ खण्ड (घ) बमोजिम निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रवक्ता थापाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय