राजस्व विभागको सफ्टवेयर ह्याक गरेर भाटभटेनीको कर बढाउने दुई जना पक्राउ



काठमाडौं । भाटभटेनी सुपरमार्केटले तिर्नुपर्ने करको दायित्व बढाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भाटभटेनी सुपरमार्केटलाई घाटामा पुर्‍याउन प्रणालीमा पहुँच पुर्‍याएर करको दायरा बढाइदिएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्वत घर भई चितवन बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखा घर भई चितवन बस्ने २२ वर्षीय परिन पाण्डे रहेका छन्। उनीहरू चितवनमा रहेको बिहादी बिजनेश म्यानेजमेण्टमा कार्यरत कर्मचारीहरू रहेको अनुसन्धानबाट खुलेको छ ।

उक्त कम्पनी लेखा परीक्षण गर्ने निजी फर्म हो। सिआइबीले उनीहरूलाई माघ ५ गते भरतपुर महानगरपालिका-३ बाट पक्राउ गरेको थियो।

उनीहरूमाथि सिआइबीले विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद ९ (कम्प्युटर सम्बन्धी) कसुर अन्तर्गत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

पराजुली र पाण्डेले भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्‍याएर विद्युतीय कसुर गरेको आरोप छ। यद्यपि भाटभटेनीले तिर्नुपर्ने करको रकम नै बढाएर घाटा पुर्‍याउन खोजिएको आरोप लागेको हो।

किन त्यसो गरे भन्नेबारे भने सिआइबीले थप अनुसन्धान गरिरहेको जनाएको छ। भाटभटेनी सुपरमार्केटको दुई अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ रुपैयाँ कारोबारको राजश्व कर दायित्व ६ करोड २६ लाख ९४ हजार १९ रुपैयाँ तिर्नुपर्ने थियो।

तर त्यो रकमलाई उनीहरूले प्रणालीमा पहुँच पुर्‍याएर हेरफेर गरिदिएका थिए। उक्त राजश्वको दायित्वलाई बढाएर उनीहरूले १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ बढाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज