छिपहरमाई गाउँपालिकाको ४१ करोडको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्यसहित नागरिकमुखी कार्यक्रम प्राथमिकतामा



वीरगंज, २१ असार । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४१ करोड ४९ लाख ४० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शनिबार सम्पन्न २१औं गाउँसभामा गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले आय–व्यय विवरणसहितको बजेट प्रस्तुत गरेका हुन्।

प्रमुख प्रशासकीय अधिकृत कदिर बाबु देवानका अनुसार, कुल बजेटमध्ये शर्त अनुदानबाट १७ करोड २६ लाख, आन्तरिक राजस्व बाँडफाँडबाट ८ करोड ३४ लाख ८८ हजार ४८२, मालपोत बाँडफाँडबाट १ करोड, प्रदेश सरकारबाट अनुदानका रूपमा ६६ लाख ८१ हजार, राजस्व बाँडफाँडबाट ५० लाख २६ हजार ८० र संघीय सरकारको वित्तीय समीकरण अनुदानबाट ९६ लाख १० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम प्राथमिकतामा।

अध्यक्ष गुप्ताले शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम निर्माण गरिएको जानकारी दिए। साथै, नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरू पनि बजेटमा समावेश गरिएको छ।त्यसमध्ये आँखा शिविरको आयोजना, बाढी र आगलागी पीडितलाई राहत, महिला बिरामीको लागी स्वास्थ्य अनुदान जस्ता कार्यक्रमलाई समावेश गरिएको छ। अध्यक्ष गुप्ताले आगामी दिनमा रायसल्लाह गर्दै  बाकी रहेको कुरा थपघट गर्दै  संशोधन गर्दै अघि बढ्ने स्पष्ट पारे।

 

ठेक्केदारमुखी नभई नागरिकमुखी बजेटको पक्षमा अध्यक्ष गुप्ता

अध्यक्ष गुप्ताले बजेट निर्माण प्रक्रियामा ठेक्केदारहरूको बढ्दो प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गरे। “पहिला हामी नागरिककहाँ पुगेर बजेट बनाउँथ्यौं, अहिले ठेक्केदारहरू आफैं आएर भन्छन्, यस्तो बजेट बनाउनु। यो गलत अभ्यास हो,” उनले भने, “नागरिक सरोकारको बजेट नागरिकमै सीमित हुनुपर्छ, ठेक्केदारमुखी बजेट बनाउने प्रवृत्तिबाट हामीले जोगिनुपर्छ।” उनले यस्तो अभ्यासलाई जिल्ला र केन्द्र दुबै तहबाट नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याए।

भ्रष्टाचारको सम्भावना छैन, बदनाम गर्न खोजिने प्रवृत्तिबाट सावधान रहन आग्रह

सभामा अध्यक्ष गुप्ताले पालिकामा भ्रष्टाचारको कुनै सम्भावना नरहेको दाबी गर्दै व्यक्तिगत रिसइबीको कारण जनप्रतिनिधिमाथि बदनाम गर्न खोजिने प्रयासप्रति सचेत रहन आग्रह गरे। सभामा अध्यक्ष गुप्ताले पालिकालाई सबै दलको साझा फूलबारीको रूपमा वर्णन गर्दै भने,“यहाँ कुनै पनि किसिमको भ्रष्टाचार भएको छैन, न त यसको सम्भावना नै छ।“यदि कोही भ्रष्टाचारको आशंका गर्छन् भने त्यो सोच दिमागबाट हटाउनुहोस्,” उनले भने।

सभामा उपाध्यक्ष अनुपस्थित, प्रमुख प्रशासकीय अधिकृतले गरे धन्यवाद ज्ञापन

सभामा गाउँपालिकाकी उपाध्यक्ष अनुपस्थित रहेकी थिइन्। प्रमुख प्रशासकीय अधिकृत देवानले उपस्थित सम्पूर्ण प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारप्रति धन्यवाद ज्ञापन गर्दै मेलमिलाप र एकताको आधारमा पालिकालाई विकासको दिशामा अगाडि बढाउने विश्वास व्यक्त गरे।

गाउँपालिका अध्यक्ष मनोज गुप्ताको अध्यक्षतामा भएको सभामा प्रमुख प्रशासकीय अधिकृत कदिर बाबु देवानसहित वडा अध्यक्षहरू कामेश्वर प्रसाद यादव, महेन्द्र साह कलवार, दिपेन्द्र सिंह, रामेश्वर महतो केवट, मौजिलाल साह कानु, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम गाउँपालिका कार्यालयको सभाहलमा सम्पन्न भएको हो। सभाको सञ्चालन प्रशासन प्रमुख सत्रुधन यादवले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज