वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा ज्ञापन पत्र बुझाउन जाँदा कार्यालय सहयोगी बाहेक कुनै पनि कर्मचारी उपस्थित नभएको नेकपा एमालेका युवा नेता सुनिल गुप्ताले जानकारी दिएका छन्।
ज्ञापन पत्रमा गाउँपालिकामा समयमा गाउँ सभा नहुँदा विकासका कामहरू अवरुद्ध हुने, बजेट कटौती हुने, समानिकरण अनुदान प्राप्त नहुने र खाता सञ्चालनमा समस्या आउने खतरा औँल्याइएको छ। साथै, विगतका विकास निर्माण, योजना तर्जुमा नहुनु, कर्मचारी छनोटमा अनियमितता, विभिन्न किसिमका सामग्री वितरणमा भेदभाव, शिक्षक नियुक्ति लगायतका विषयमा गम्भीर समस्या रहेको उल्लेख छ।
गाउँपालिका कार्यालयमा सामाजिक सुरक्षा र आर्थिक सहयोगजस्ता महत्त्वपूर्ण सेवा रोकिएको पनि पत्रमा जनाइएको छ। गुप्ताका अनुसार बिहान १० बजेदेखि १ बजेसम्म जनप्रतिनिधि र कर्मचारीको पर्खाइमा बसे पनि कोही पनि उपस्थित भएनन्। प्रमुख प्रशासकीय अधिकृतले आइतबार आउने जानकारी दिएका थिए भने गाउँपालिका अध्यक्षले पनि आइतबार पछि मात्र कुरा गर्ने बताएका थिए। उपमेयरसँग भने सम्पर्क हुन सकेन र शिक्षा शाखा प्रमुखले पनि आइतबार आउने बताएका थिए।
ज्ञापन पत्र बुझाउन आएको टोली त्यहाँबाट फर्किएको छ भने, आइतबार फेरि जनप्रतिनिधि र कर्मचारीहरू उपस्थित नभए आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ।
यो घटनाले गाउँपालिकाको प्रशासनिक जिम्मेवारीप्रति प्रश्न खडा गरेको छ।