वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ । पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टको सशक्त नेतृत्व र कडाइका साथ सञ्चालन गरिएको विशेष अभियानका क्रममा पछिल्लो केही दिनमै ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको हो ।

एसपी भट्टको निर्देशनमा सीमावर्ती नाका तथा संवेदनशील क्षेत्रहरूमा निगरानी र चेकजाँच कडा बनाइएपछि सशस्त्र प्रहरीले मिति २०८२/०९/०९ गते पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–५, प्रसौनिभाठा गाउँस्थित धुतहा खोलाको किनारबाट भारततर्फ लैजान खोजिएको १२० केजी गाँजा बरामद गर्न सफल भएको हो । सशस्त्र प्रहरी बल, नेपाल विओपी प्रसौनिभाठाबाट खटिएको टोलीले ८ वटा प्लास्टिकका पोका फेला पारेको थियो ।
प्रहरी टोलीलाई देख्नासाथ संलग्न व्यक्तिहरू फरार भएका थिए । बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघि पनि एसपी भट्टको कमाण्डमा सञ्चालन गरिएको अभियानअन्तर्गत मंसिर ८ गते नेपालबाट भारततर्फ जाँदै गरेका प्र.०२.००१ प ५२०२ र बीआर २२ एके २९४४ नम्बरका दुई मोटरसाइकललाई शंका लागेर चेकजाँच गरिएको थियो । चालकहरू मोटरसाइकल छाडेर फरार भएपछि ट्याङ्की जाँच गर्दा करिब ९ केजी गाँजा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको थियो ।
त्यस्तै, मंसिर ९ गते पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–५ बटसौरास्थित खेतबारीमा लुकाइ राखिएको अवस्थामा २१३ केजी (दुई क्विन्टल १३ केजी) गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
एसपी पुरनचन्द्र भट्टले लागुऔषध दुर्व्यसनले समाजमा गम्भीर र दीर्घकालीन नकारात्मक असर पार्ने भएकाले यसविरुद्ध नियन्त्रण, रोकथाम र निष्तेजीकरण अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने स्पष्ट पारेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी डिएसपी विश्वराज योन्जनले एसपी भट्टको नेतृत्वमा आगामी दिनमा पनि सीमावर्ती क्षेत्रमा लागुऔषधविरुद्धको अभियान थप सशक्त बनाइने जानकारी दिएका छन् ।