वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले सीमावर्ती क्षेत्रमा लागुऔषध तथा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टको नेतृत्वमा सञ्चालन भइरहेको अभियानअन्तर्गत फेरि ठूलो सफलता हात लागेको हो।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय तथा नं. २ छिन्नमस्ता बाहिनीको नीति तथा निर्देशन बमोजिम एसपी भट्टको कमाण्डमा पर्सामा लागुऔषध ओसारपसार नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाइएको छ। सोही अभियानका क्रममा मिति २०८२ साल पौष १२ गते पर्साको पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वा चोकमा खटिएको सशस्त्र प्रहरी टोलीले दुई जना व्यक्तिलाई ९ केजी ३०० ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको हो।
सुरक्षा बेस पोखरीयाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवालको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले चेकप्वाइन्ट राखी चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ लैजान लागिएको लागुऔषध फेला पारेको थियो।
पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर गाउँपालिका–५ का ४३ वर्षीय रबिन्द्र महतो (BR22U 1178 नं.को मोटरसाइकल) र भारत बेतिया जिल्लाका ३७ वर्षीय अशोक महतो (BR22A 5302 नं.को मोटरसाइकल) रहेका छन्।
जाँचका क्रममा एक जनाको मोटरसाइकलको डिक्कीबाट करिब ५ केजी र अर्काको मोटरसाइकलको सिटमुनिबाट ४ केजी ३०० ग्राम गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। उनीहरूको साथबाट दुई थान मोबाइल र भारु १४५० रुपैयाँ समेत बरामद गरिएको छ। बरामद गाँजा, मोटरसाइकल र नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको छ।
एसपी पुरनचन्द्र भट्टले नेतृत्व सम्हालेपछि पर्सा जिल्लामा लागुऔषध नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको छ। सशस्त्र प्रहरीका अनुसार पछिल्लो समय मात्रै पर्साका विभिन्न स्थानबाट ३२३ केजी, १२० केजी गाँजा र ७३८ फायल नाइट्राभेट बरामद गरी नेपाल प्रहरीलाई बुझाइसकिएको छ।
एसपी भट्टले सीमावर्ती क्षेत्रमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी थप सक्रिय रहने र लागुऔषध तस्करीविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारेका छन्।