छिपहरमाई गाउँपालिकामा ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी सामग्री बुझाउन आदेश

धर्मेन्द्र प्रसाद यादव
२०८३ आश्विन २७, मंगलवार ०७:४६ बजे

वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकाले स्वीकृत दरबन्दीबाहिर कार्यरत ३० जना कर्मचारीलाई कामकाज नगर्न निर्देशन दिएको छ। गाउँ कार्यपालिकाको कार्यालयले २०८३ असोज २३ गते सूचना जारी गर्दै उनीहरूलाई तत्काल कामकाज नगर्न र आफूहरूको जिम्मामा रहेका नगद तथा जिन्सी सामग्री तीन दिनभित्र कार्यालयमा बुझाउन आदेश दिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजीत कुमार झाले जारी गरेको सूचनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत दरबन्दीबाहिर रहेका कर्मचारीलाई कामकाज नगर्न भनिएको छ। सूचनामा गाउँपालिकाको कार्यालय तथा विभिन्न वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत कम्प्युटर अपरेटर, न्याय सहयोगी, कार्यालय सहयोगी, गार्ड, चालक, स्टाफ नर्स, पाले, स्वीपर र अनमीसहितका कर्मचारी समेटिएका छन्।

प्रमुख प्रशासकीय अधिकृत झाले ३० जना कर्मचारीलाई कामकाजबाट हटाइएको पुष्टि गर्दै स्वीकृत दरबन्दीबाहिरका कर्मचारीलाई निरन्तरता नदिने बताएका छन्। उनका अनुसार यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पत्रहरू अध्ययन गरी गाउँपालिकाका कर्मचारीहरूसँग छलफलपछि निर्णय गरिएको हो।

“पहिलेदेखि नै दरबन्दीबाहिरका कर्मचारी राखिँदै आएको रहेछ। अब त्यस्तो हुँदैन। मैले गरेको निर्णयबाट पछि हट्दिनँ,” झाले भने।

उनले सम्बन्धित कर्मचारीलाई हाजिर नगराउन कार्यालयमा निर्देशनसमेत दिइसकेको बताए। तीन दिनभित्र जिन्सी सामग्री बुझाउन भनिएको विषयमा सबै कर्मचारीले सामग्री बुझाए वा नबुझाएको भन्नेबारे आफू कार्यालय पुगेपछि यकिन गर्ने र आदेश पालना नगरेको पाइए जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्राचार गर्ने उनले बताए।

कामकाज रोक्न निर्देशन दिइएका ३० कर्मचारीको विवरण

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार कामकाज नगर्न निर्देशन दिइएका कर्मचारीहरूको नाम, पद र कार्यरत कार्यालयको विवरण यसप्रकार छ।

क्र.सं. कर्मचारीको नाम पद कार्यरत कार्यालय
१ प्रशान्त कुमार साह कम्प्युटर अपरेटर वडा नं. २ कार्यालय
२ मुकेश कुमार कानु कम्प्युटर अपरेटर गाउँपालिका कार्यालय
३ मनीष कुमार महतो कम्प्युटर अपरेटर गाउँपालिका कार्यालय
४ सुबोध कुमार सिंह कम्प्युटर अपरेटर गाउँपालिका कार्यालय
५ चुनमून सिंह राजपूत न्याय सहयोगी गाउँपालिका कार्यालय
६ सुनील कुमार वर्मा कार्यालय सहयोगी गाउँपालिका कार्यालय
७ भुनेश्वर साह कानु कार्यालय सहयोगी गाउँपालिका कार्यालय
८ रामबहादुर साह गार्ड गाउँपालिका कार्यालय
९ रामबाबु साह कानु चालक गाउँपालिका कार्यालय
१० कन्हैया साह कानु कार्यालय सहयोगी वडा नं. २ कार्यालय
११ मनिफ मियाँ गार्ड गाउँपालिका कार्यालय
१२ सरोज कुमारी दास स्टाफ नर्स वडा नं. ३ स्वास्थ्य चौकी
१३ सम्झना थनेट स्टाफ नर्स वडा नं. १ स्वास्थ्य चौकी
१४ महेश्वर गिरी कार्यालय सहयोगी वडा नं. २ कार्यालय
१५ कृष्णा कुमार साह पाले वडा नं. ३
१६ विचारी साह कानु पाले वडा नं. २
१७ धीरज साह कानु पाले वडा नं. ३
१८ फली साह कानु पाले वडा नं. ३
१९ राजबाबु मियाँ पाले वडा नं. ५
२० विक्की कुमार पाले वडा नं. ५
२१ इमतियाज मियाँ कार्यालय सहयोगी वडा नं. ५
२२ लालती देवी स्वीपर वडा नं. १
२३ गार्ड साहेब कुमार यादव कार्यालय सहयोगी वडा नं. ४
२४ नरेन्द्र हजारा गार्ड वडा नं. ४
२५ राजकिशोर प्रसाद यादव गार्ड वडा नं. १
२६ कृषमोहन तिवारी गार्ड वडा नं. ३
२७ बलीराम महतो नूनिया स्वीपर वडा नं. ३
२८ मिनदेव साह कानु कार्यालय सहयोगी वडा नं. ३
२९ सुनीता गिरी अनमी वडा नं. ३
३० कल्पत देवी यादव अनमी वडा नं. ५

तीन दिनभित्र सामग्री बुझाउन निर्देशन

गाउँपालिकाको सूचनामा सम्बन्धित कर्मचारीलाई आफूहरूको जिम्मामा रहेका सम्पूर्ण नगद तथा जिन्सी सामग्री तीन दिनभित्र कार्यालयमा बुझाउन भनिएको छ। सूचनाको बोधार्थ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, आर्थिक प्रशासन शाखा, सबै वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय पर्सालाई समेत दिइएको छ।

स्वीकृत दरबन्दीबाहिरका कर्मचारी हटाउने निर्णयले गाउँपालिकाको सेवा प्रवाहमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा भने थप स्पष्टता आवश्यक देखिएको छ। विशेषगरी स्वास्थ्य चौकीमा कार्यरत स्टाफ नर्स र अनमीसहितका कर्मचारीलाई कामकाज नगर्न निर्देशन दिइएकाले सम्बन्धित सेवा प्रभावित हुन्छ वा हुँदैन भन्ने विषय चासोको विषय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

धर्मेन्द्र प्रसाद यादव

धर्मेन्द्र प्रसाद यादव

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्