काठमाडौं । भारतको झारखण्ड राज्यस्थित खूँटी जिल्लामा भएको भीषण सडक दुर्घटनामा तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ।
शुक्रबार प्रहरीले दिएको जानकारीअनुसार बिहीबार राति कर्रा–तोरपा मुख्य सडकमा दुर्घटना भएको हो। सडकमा भएको अर्को दुर्घटनामा स्कुटर चालक खाल्डोमा खसेपछि उनलाई उद्धार गर्न जम्मा भएको भीडलाई तीव्र गतिमा आएको १८ चक्के ट्रकले किचेको थियो।
खूँटीका प्रहरी उपरीक्षक ऋषभ गर्गका अनुसार स्कुटर चालकलाई उद्धार गर्न स्थानीयवासी घटनास्थलमा पुगेका थिए। सोही क्रममा महिला तथा बालबालिकासहित अन्य व्यक्तिहरू पनि दुर्घटना हेर्न त्यहाँ जम्मा भएका थिए।
यसैबीच तोरपातर्फबाट आइरहेको १८ चक्के ट्रकले तीव्र मोड लिने क्रममा सडकमा जम्मा भएका मानिसहरूलाई ठक्कर दिँदै किचेको प्रहरीले जनाएको छ। अँध्यारोका कारण चालकले सडकमा मानिसहरूको भीड देख्न नसकेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
घटनाप्रति झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै दुर्घटनाबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गरेका छन्।
प्रारम्भिक विवरणअनुसार एउटा दुर्घटनामा घाइतेलाई उद्धार गर्न पुगेका मानिसहरू अर्को दुर्घटनाको सिकार बनेपछि घटनास्थलमा ठूलो जनधनको क्षति भएको हो।


तपाईको प्रतिक्रिया !