काठमाडौं । युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रस्थित एक राहत वितरण केन्द्रमा रुसी सेनाले गरेको भीषण हवाई आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ। आक्रमणमा पाँच जना घाइते भएका छन् भने घटनापछि केही समय २७ जना बेपत्ता भएका थिए।
जापोरिजिया क्षेत्रको कोमिसुभाखा गाउँमा भएको उक्त आक्रमणलाई युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ‘अत्यन्तै भयावह’ भन्दै निन्दा गरेका छन्।
क्षेत्रीय प्रमुख मिखाइलो सेमकिनका अनुसार कोमिसुभाखामा कम्तीमा नौवटा तीन हजार किलोग्राम क्षमताका शक्तिशाली हवाई बम खसालिएका थिए। आक्रमणपछि ठूलो क्षति पुगेको क्षेत्रमा उद्धार तथा खोजी कार्य सञ्चालन गरिएको थियो।
राष्ट्रपति जेलेन्स्कीका अनुसार स्थानीय विद्यालयलाई मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग गरिएको थियो। रुसी सेनाले पहिलो आक्रमण गरेपछि त्यहाँ ओत लाग्न पुगेका मानिसहरूलाई लक्षित गरी दोस्रो आक्रमणसमेत गरिएको उनले बताएका छन्।
उनले आक्रमणपछि बनेको ठूलो खाडल र भग्नावशेषमा उद्धारकर्मीहरूले खोजी गरिरहेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
सुरुमा घटनामा १८ जनाको मृत्यु भएको बताइएको थियो। पछि युक्रेनको राज्य आपतकालीन सेवाले दुई उद्धारकर्मी र चार प्रहरी अधिकारीसहित २४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। सोमबार अबेर राति सार्वजनिक भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले मृतकको संख्या बढेर २६ पुगेको जानकारी दिएका हुन्।
जेलेन्स्कीले स्थानीय बासिन्दाले हरेक सोमबार उक्त स्थानबाट नियमित रूपमा मानवीय सहायता प्राप्त गर्ने गरेको रुसी पक्षलाई समेत जानकारी रहेको दाबी गरेका छन्।
‘कोमिसुभाखामा भएको घटना रुस तनाव कम गर्न चाहँदैन भन्ने अर्को प्रमाण हो,’ उनले भनेका छन्। यस्ता आक्रमणले शान्ति स्थापनाभन्दा हिंसा र थप हत्यालाई प्राथमिकता दिएको सन्देश जाने उनको भनाइ छ।
यसअघि अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा भएको अस्थायी युद्धविरामका क्रममा रुसको कब्जामा रहेको दक्षिणी सहर ओलेस्कीबाट नागरिकहरूलाई उद्धार गर्ने संयुक्त रुसी–युक्रेनी अभियान सफल भएको थियो। उक्त घटनापछि दुई देशबीच शान्तिको सम्भावनाबारे केही आशा पलाएको थियो।
तर, कोमिसुभाखामा भएको पछिल्लो आक्रमणले शान्ति प्रयासमा गम्भीर धक्का पुगेको युक्रेनको ठहर छ। एजेन्सी


तपाईको प्रतिक्रिया !