वीरगञ्ज कारागारबाट फरार कैदी भारतमा पक्राउ

NEWS DESK
२०८३ कार्तिक २६, बिहिवार १९:१७ बजे

वीरगञ्ज । पर्साको वीरगञ्ज कारागारबाट बिहीबार बिहान फरार भएका कैदी सुनिल साह केही घण्टामै पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय भोगिरहेका उनलाई नेपाल–भारत सीमा नजिकै भारतको आदापुर क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

पर्साको पोखरिया नगरपालिका–सतवरियाका ३० वर्षीय साह कारागारभित्र सरसफाइको काम गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लका अनुसार उनी बिहीबार बिहान सुरक्षाकर्मीको आँखा छलेर कारागारको पर्खाल नाघ्दै फरार भएका थिए ।

साहको कैद भुक्तान हुन अब दुई वर्ष मात्र बाँकी थियो । उनी फरार भएको जानकारी प्राप्त हुनासाथ पर्सा प्रहरीले खोजी अभियान तीव्र पारेको थियो ।

प्रहरीका अनुसार साह वीरगञ्जको इनर्वा हुँदै बाराको मटिअर्वा नाका पार गरेर भारतीय क्षेत्रमा पुगेका थिए । उनलाई करिब दिउँसो १ बजे भारतको आदापुर क्षेत्रस्थित मटिअर्वा भन्सार नजिकबाट पक्राउ गरिएको डिएसपी मल्लले जानकारी दिए ।

प्रहरीको सक्रियताका कारण फरार भएको केही घण्टामै उनलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

घटनापछि वीरगञ्ज कारागारको सुरक्षा व्यवस्थाबारे समेत आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्