पर्साका ग्रामीण क्षेत्रमा लागुऔषधको बढ्दो प्रभाव : कुलतमा युवा, चिन्तामा परिवार

ग्रामीण तथा सीमावर्ती क्षेत्रमा लागुऔषध सहजै उपलब्ध हुने गुनासो, नियन्त्रणमा प्रभावकारी पहलको माग

न्यूज डेस्क
२०८३ आश्विन १६, शुक्रबार १५:२४ बजे

वीरगंज । पर्साका ग्रामीण तथा सीमावर्ती क्षेत्रमा लागुऔषध सेवन गर्ने युवाको संख्या बढ्दै गएको भन्दै समाजमा चिन्ता बढेको छ। गाउँ–गाउँ र चोकसम्म लागुऔषध सहजै उपलब्ध हुने गरेको गुनासो बढेसँगै किशोर तथा युवापुस्ता यसको जोखिममा परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयका अनुसार ग्रामीण क्षेत्रका केही स्थानमा गाँजा खुला रूपमा बिक्री–वितरण हुने गरेको छ। कतिपय चोक तथा बस्तीमा सानो–सानो परिमाणमा गाँजाको पुडिया (पकेट) बनाएर बिक्री हुने गरेको र केही धार्मिक स्थल मठमन्दिरमा बस्ने साधुसन्तबाट समेत गाँजा बिक्री तथा सेवन हुने गरेको आरोपसमेत लगाइएको छ। यस्ता आरोपबारे सम्बन्धित निकायबाट छानबिन आवश्यक देखिन्छ।

खुला सीमाका कारण प्रतिबन्धित औषधि, सुई तथा सुलेसनलगायतका पदार्थसमेत सहजै भित्रिने गरेको गुनासो छ। साथीभाइको दबाब, गलत संगत, जिज्ञासा तथा रमाइलोका रूपमा सुरु हुने सेवन पछि कुलतमा परिणत हुने गरेको सरोकारवालाहरू बताउँछन्। पछिल्लो समय युवापुस्तामा यसको प्रभाव बढ्दै गएको भन्दै अभिभावक, समाजसेवी तथा बुद्धिजीवीहरूले चिन्ता व्यक्त गरेका छन्।

लागुऔषधको कुलतमा फसेपछि सेवनका लागि आवश्यक रकम जुटाउने क्रममा चोरी, कुटपिट, झैझगडा तथा अन्य आपराधिक गतिविधिमा संलग्न हुने जोखिम बढ्ने स्थानीयको भनाइ छ। पर्साका विभिन्न स्थानमा हुने मोटरसाइकल, मोटर तथा धारा–कल चोरी, घर तथा पसल चोरी र घरायसी झैझगडाजस्ता घटनामा लागुऔषध सेवनको पृष्ठभूमि जोडिएको हुन सक्ने भन्दै यसको समेत अनुसन्धान गर्नुपर्ने उनीहरू बताउँछन्। यद्यपि, सबै आपराधिक घटनाको कारण लागुऔषध नै हो भन्ने निष्कर्ष अनुसन्धानबिना निकाल्न नसकिने भएकाले घटनाको कारण र संलग्नताबारे तथ्यगत अनुसन्धान आवश्यक हुन्छ।

पर्साका विभिन्न बजार, चोक तथा सीमावर्ती क्षेत्रमा घरेलु मदिराको खुला बिक्री–वितरणसमेत हुने गरेको भन्दै सम्बन्धित निकायबाट प्रभावकारी नियमन र अनुगमन गर्न माग गरिएको छ। लागुऔषध तथा मदिराको अवैध बिक्री नियन्त्रणका साथै सीमावर्ती क्षेत्रमा निगरानी बढाउनुपर्ने उनीहरूको भनाइ छ।

लागुऔषधको बढ्दो प्रयोगले युवापुस्तासँगै परिवार र समाजमा समेत असर पारिरहेको समाजसेवी तथा बुद्धिजीवीहरू बताउँछन्। समयमै नियन्त्रणका उपाय नअपनाए समस्या अझ जटिल बन्न सक्ने भन्दै उनीहरूले प्रहरी प्रशासनसँगै स्थानीय तह, विद्यालय, अभिभावक र समुदायको संयुक्त पहल आवश्यक रहेको बताएका छन्।

यसैबीच, पर्साको धोबिनी गाउँपालिका–५ मा भएको चोरी तथा ६२ वर्षीया लखरजिया देवीको हत्या घटनामा प्रहरीले तीन युवकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा १८ वर्षीय चन्दनकुमार पटेल, १८ वर्षीय राजकपुर बैठा र १८ वर्षीय रामु पासवान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाको राति तीनै जनाले गाँजा सेवन गरी चोरी गर्ने योजना बनाएका थिए। घरभित्र चोरी गर्ने क्रममा लखरजिया देवी ब्युँझिएपछि उनीमाथि धारिलो वस्तुले प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको थियो। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत पर्साबाट कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रणका लागि सेवनकर्तामाथि कानुनी कारबाहीसँगै गाउँ–गाउँसम्म पुगिरहेको अवैध बिक्री–वितरण रोक्न, सीमावर्ती क्षेत्रमा निगरानी बढाउन, युवामा सचेतना फैलाउन तथा कुलतमा फसेकालाई उपचार र पुनःस्थापनाको अवसर दिनुपर्ने सरोकारवालाको माग छ। युवापुस्ता कुलतमा फस्न नदिन समयमै समुदायस्तरबाटै पहल गर्नुपर्ने उनीहरूको जोड छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्