वीरगंज। भारतको पश्चिमी चम्पारणस्थित कंगली थाना प्रहरीले लागूऔषधविरुद्ध कारबाही गर्दै ६४ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले घटनास्थलबाट तीन वटा मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार कंगली थाना क्षेत्रअन्तर्गत कठिया मठिया गाउँमा रहेको फरियाद मियाँको झोपडीमा छापा मार्दा ठूलो परिमाणमा गाँजा बरामद भएको हो। घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा नेपाल पोखरिया थाना नवका टोलाका ५५ वर्षीय शिव मंगल शाह, नेपाल सेरहवा थाना जगरनाथपुरका ५० वर्षीय नूर आलम, पूर्वी चम्पारण पालनवा थाना गाद बहुअरीका ३७ वर्षीय नाहिद हुसेन र पश्चिमी चम्पारण कंगली थाना कठिया मठियाका ३५ वर्षीय बीरेन्द्र पटेल रहेका छन्।
प्रहरीका अनुसार गाँजा तस्करी भइरहेको सूचना प्राप्त भएपछि विशेष निगरानी र सूचनाका आधारमा टोलीले कठिया मठियामा छापा मारेको थियो। सो क्रममा ६४ किलो गाँजा बरामद भएको हो।
प्रहरीले बरामद गाँजा, तीन वटा मोटरसाइकल तथा पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।


तपाईको प्रतिक्रिया !