काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो भनिएको विवादित अडियो संवादबारे पार्टीको अनुशासन आयोगसमक्ष लिखित स्पष्टीकरण पेस गर्दै आरोप अस्वीकार गरेका छन्। उनले सार्वजनिक भएको अडियोमा रहेको आवाज आफ्नो नभएको दाबी गरेका हुन्।
सांसद सुनार र एक महिलाबीच भएको भनिएको संवाद सार्वजनिक भएपछि रास्वपाले गठन गरेको अनुशासन आयोगको छानबिन समितिसमक्ष उनले लिखित रूपमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन्।
अनुशासन आयोगका उपप्रमुख तथा छानबिन समितिका संयोजक अधिवक्ता हरिचन्द्र भट्टराईका अनुसार सुनारले लिखित पत्रमार्फत आरोप अस्वीकार गरेका छन्। उनका अनुसार सांसद सुनारले यसअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको खण्डनकै विषयलाई पत्रमा समेत उल्लेख गरेका छन्।
विवादित अडियो सार्वजनिक भएपछि सांसद सुनारले उक्त सामग्री आर्टिफिसियल इन्टेलिजेन्स (एआई) वा अन्य प्रविधिको दुरुपयोग गरी कृत्रिम रूपमा तयार पारिएको दाबी गरेका थिए। आफूले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण योजनाबद्ध रूपमा आफूलाई निशाना बनाइएको उनको जिकिर छ। उनले अडियोमा जोडिएका पात्र तथा संवाद काल्पनिक रहेको दाबी गर्दै आरोपलाई निराधार बताएका छन्।
मूल अडियो र प्राविधिक परीक्षणमा समितिको ध्यान
सांसद सुनारले आरोप अस्वीकार गरेपछि छानबिन समितिले अडियोको सत्यता पत्ता लगाउन स्वतन्त्र प्रमाण सङ्कलन तथा प्राविधिक परीक्षणको प्रक्रिया अघि बढाएको छ।
समितिले उक्त अडियो सामग्री प्रकाशन गरेको ‘जनआस्था’ पत्रिकाबाट सम्पादन हुनुअघिको मूल अडियो फाइल प्राप्त गरिसकेको जनाएको छ। त्यसैगरी, पीडित भनिएकी महिलाको अन्तर्वार्ताको अडियो प्राप्त गर्न ‘न्युज २४’ टेलिभिजनलाई पत्राचार गरिएको छ।
छानबिन समितिका संयोजक भट्टराईका अनुसार प्राप्त अडियोको आन्तरिक रूपमा परीक्षण गरिनेछ। त्यस क्रममा प्राविधिक जटिलता देखिए सम्बन्धित आधिकारिक निकायसँग सहयोग मागिनेछ।
प्राविधिक परीक्षणको प्रतिवेदन आउन लाग्ने समयका आधारमा छानबिनको अन्तिम निष्कर्ष निर्भर हुने समितिले जनाएको छ। यद्यपि, अनुसन्धान अन्तिम चरणमा पुगिसकेको संयोजक भट्टराईले बताएका छन्।
छानबिन नसकिँदासम्म औपचारिक कार्यक्रममा रोक
विवादित अडियो सार्वजनिक भएपछि रास्वपाले घटनाबारे गम्भीर चासो व्यक्त गर्दै सांसद सुनारमाथि आन्तरिक छानबिन गर्न अनुशासन आयोगलाई निर्देशन दिएको थियो।
पार्टीले छानबिनको निष्कर्ष नआएसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ।
सांसद सुनारले आरोप अस्वीकार गरिरहेका बेला समितिले मूल अडियो, सम्बन्धित अन्तर्वार्ता र प्राविधिक प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको छ। अडियोको वास्तविकता तथा आरोपसम्बन्धी अन्तिम निष्कर्ष भने छानबिन प्रतिवेदनपछि मात्रै स्पष्ट हुनेछ।


तपाईको प्रतिक्रिया !