रौतहट, १३ कात्तिक । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन् ।
बिहीबार साँझ करिब ६ः३० बजे दुधिअवा–बालचनपुर सडकखण्डमा ना.२ त ४७८६ नम्बरको ट्याक्टर र बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गुजरा नगरपालिका–४ पोखरभिन्डाका ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी र मोटरसाइकलमा पछाडि सवार उनकी ३० वर्षीया श्रीमती प्रहरी जवान निशा खड्का घाइते भएका थिए ।
दुवैलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए । उनकी श्रीमती निशाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृतक चौधरी बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिएका छन् ।


तपाईको प्रतिक्रिया !