काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज शनिबार दुई महत्वपूर्ण खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा चितवन राइनोज, लुम्बिनी लायन्स, विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
दिनको पहिलो खेलमा दिउँसो साढे १२ बजे चितवन राइनोज र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। दुवै टोलीले प्रतियोगिताको पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गरेका छन्।
लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो भने चितवनले विराटनगर किङ्समाथि जित दर्ता गरेको थियो। त्यसैले आज दुवै टोली आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।
यस्तै, दोस्रो खेलमा साँझ ५ बजे फ्लडलाइटमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। लगातार दुई खेलमा पराजित भएको विराटनगर पहिलो जितको खोजीमा हुनेछ।
विराटनगर यसअघि चितवन राइनोज र कर्णाली याक्ससँग पराजित भइसकेको छ। अर्कोतर्फ सुदूरपश्चिमले दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ। पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो।
यसैबीच, मौसम प्रतिकूलताले आजका दुवै खेल प्रभावित हुन सक्ने आशंका गरिएको छ। चक्रवात ‘अर्नब’ को अवशेष तथा पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
शुक्रबार दिनभर परेको वर्षाका कारण त्रिवि क्रिकेट मैदानको पिच र खेल तालिकामा पर्न सक्ने प्रभावबारे खेलप्रेमी तथा आयोजकको चासो बढेको छ। मौसमको अवस्थाले आजका खेल सञ्चालनमा कस्तो असर पार्छ भन्ने प्रतीक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया !