धनगढी । श्री एयरलाइन्सको विमानमा एयर होस्टेसमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । मंगलबार साँझ काठमाडौं–धनगढी उडान क्रममा घटना भएको हो ।
धनगढी विमानस्थल प्रहरी स्रोतका अनुसार, कैलालीको गोदावरी नगरपालिका–१ का शिवराज ओझाले एयर होस्टेसलाई अभद्र व्यवहार गरेका थिए ।
उनले होस्टेसतर्फ आफ्नो खुट्टा लगेका थिए । ओझा सीट नम्बर १ मा बसेका थिए । जहाँ एयर होस्टेसको सीटको अगाडी हुन्छ । आफ्नो सीट अगाडी आफूतिर फर्किएर बसेकी एयर होस्टसलाई उनले जिस्काए थिए ।
पटक–पटक आग्रह गर्दा पनि उनले नमानेपछि एयर होस्टेसले क्याप्टेनलाई खबर गरेकी थिइन् ।
क्याप्टेन सुगम घिमिरेले घटनाबारे नागरिक उड्डयन प्राधिकरणको धनगढी कार्यालयलाई जानकारी गराए । प्राधिकरणले प्रहरीलाई सूचित गरेपछि विमान अवतरण हुनासाथ ओझालाई पक्राउ गरिएको हो ।
श्री एयरलाइन्सका धनगढी स्टेसन म्यानेजर गजेन्द्र शाहीका अनुसार, ओझाले सुरुमै सिटबेल्ट लगाउन मानेनन् र एयर होस्टेसलाई जिस्क्याउन थाले । उनले सीटको ह्यान्डलमा खुट्टा राखेर ग्यालरीमा हिँड्न असहज पार्ने हर्कत गरे । एयर होस्टेसले पानी दिन आउँदा खुट्टा अड्याउने जस्ता हर्कत गरे ।
उक्त उडान ४ बजे हुनुपर्नेमा ५० मिनेट ढिला गरी ४ः५० बजे मात्र धनगढीका लागि प्रस्थान गरेको थियो । क्याप्टेन सुगम घिमिरे र अलिस आचार्यले विमान उडाइरहेका थिए ।
हाल ओझालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यस्ता घटनामा प्रायः विमान डाइभर्ट गरिने भए पनि यसपटक क्याप्टेनले गन्तव्यसम्म उडान जारी राखेका थिए ।