वीरगंज, २२ मंसीर। रौतहटसँग सिमाना जोडिएको भारत बिहार मोतीहारी जिल्लाको प्रहरी प्रमुखको रुपमा नया एसपी आईपिएस अफिसर सुवर्ण प्रभातको आगमनसँगै अपराधीहरुको रुवाबासी चलेको छ।
नेपालको आर्थिक राजधानीको रूपमा परिचित वीरगंजसँग जोडिएको भारतीय शहर रक्सौलमा भारु. ४२ लाखको लागुऔषध बरामद गरेको केही समय नबित्दै प्रहरीले भारु. ३५ हजारको ईनामी अपराधी सहित २ जना लाई पक्राउ गरेको छ। लामो समयदेखि फरारको सूचिमा रहेका अपराधीहरू एसपी प्रभातको कडाई पछि धमाधम हाजिर हुन थालेका छन्।
रक्सौलस्थित प्रहरीले ईनामी अपराधी सहित दुईजनालाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा प्रहरी र एएलटीएफले संयुक्त अपरेशनमार्फत भारतीय सीमाना नजिकै इनामी अपराधी सहित दुई जनालाई पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ
पक्राउ पर्नेमा भारु ३५ हजार रुपैयाँको इनामी अपराधी रक्सौल भन्दा १० किलोमिटर टाढा रघुनाथपुर गाउँ घरभएका मोहन साहनीका छोरा २५ बर्षीय अमीर साहनी रहेको मोतीहारीका एसपी सुवर्ण प्रभातले बताएका छन्।
उनीसँगै अर्का अपराधी पश्चिम चम्पारण जिल्ला मझौलिया गाउँका बागड साहनीका छोरा देवानन्द साहनी रहेको एसपी प्रभातले जानकारी दिए । उनीहरूले कालो रङको स्कार्पियो गाडीमा वीरगंजबाट ठुलो परिमाणमा नेपाली विभिन्न ब्राण्डको मदिरा ल्याउँदै गरेका थिए । एसपी प्रभातको निर्देशनमा मोतीहारी जिल्ला भरिनै प्रहरीले मदिरा तस्करी विरुद्धको अभियान नै सञ्चालन गरेको छ । केही दिन अघि मात्र रक्सौल प्रहरी थाना र एन्टी लिकर टास्क फोर्सको संयुक्त टोलीले ४२ लाख रुपैयाँ बराबरको लागुऔषध सहित वीरगंजका राजा हुसैनलाई पक्राउ गरेको थियो ।
तीनसाता अघि मोतीहारी जिल्ला प्रहरी प्रमुखको रूपमा एसपी सुवर्ण प्रभातले कार्यभार सम्हाले पछि तस्कर तथा अपराधी माझ खैलाबैला मचिएको स्थानीयहरू बताउछन्। एसपी प्रभातको निर्देशनमा लामो समयदेखि फरारको सूचीमा रहेका अपराधीलाई पक्राउ गर्न मोतीहारी प्रहरीले एउटा अभियान नै चलाएको बताएकाे छ। अभियानअन्तर्गत छाेटाे अवधिमा १०० भन्दा बढी अपराधी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी एसपी प्रभातको कडा एक्सन पछि तस्कर र अपराधीको भागाभाग भएको एकजना स्थानीय समाजसेवी दिलीप कुमार सर्राफले बताए । एसपी प्रभातको आगमन पछि मोतीहारी जिल्लाका सम्पूर्ण प्रहरी ईकाई प्रमुखहरूको सेवाग्राहीसंगको ब्यवहारमा परिवर्तन आएको महसुस गरिएकाे छ। कुनै पनि काम लिएर जाने सेवाग्राहीसंग स्वयं ईकाई प्रमुख भेटेर पहिले पानी ख्वाउने र त्यसको समस्या सुन्न एसपीले निर्देशन दिएका छन्।
एसपी सुवर्ण प्रभात स्वयं पनि उक्त नियमको पालना गर्दै दैनिक दर्जनौं सेवाग्राहीसंग भेटेर समस्या सुनिरहेका छन् । यस अघि त्यहाँका थाना प्रमुख ठूला दलका नेताहरुसंग मात्र भेट्ने सर्वसाधारण सेवाग्राहीसंग तलो तहका प्रहरी कर्मचारी मात्र भेट्ने गरेको स्थानीयहरूले गुनासो गर्दै आएका थिए।
३४ बर्षीय आईपिएस अफिसर प्रभात सर्वसाधारण जनतासंग घुलमिल हुन थालेपछि मात्र उनीहरूको वास्तविक समस्या पहिचान हुने त्यसपिछ बुझेर समाधानको उपाय खोज्न सकिने बताएका छन् । उनको कार्यकुशलता मोतीहारी जिल्लाको लागी एउटा छुट्टै उदहारण बनेको त्यहाँका सञ्चारकर्मीहरुको भनाई रहेको छ ।