अबैध २५ करोडका मालिक नारायण पौडेल कसरी भए फरार ?



काठमाडौं । काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको अबैध २५ करोड रकम बराबरको डलर र युरोका मालिकको पहिचान भएको छ ।

प्रहरी उच्च स्रोतका अुनसार उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको रहेको खुलेको छ ।

पौडेल वहुचर्चित तथा बहुमुल्य बनपैदावर रक्तचन्दन तस्करीका नाइके समेत हुन् । नक्कली एलसी काण्डमा जेल बसिसकेका पौडेल सिन्धुपाल्चोकको तातोपानी नाकाहुँदै चीनतर्फ अबैध रक्तचन्दन तस्करी गर्ने कार्यमा संलग्न थिए ।

पौडेल तिनै व्यक्ति हुन्, जो तस्करीको रकम बोकेर जुवा खेल्न काठमाडौं आएका बेला जुवाखालबाट पक्राउ परेका थिए । प्रहरी बृत्त महाराजगञ्जले पौडेलसहित ५ जना जुवाडेलाई २०८० असारमा ग्रिनल्याण्ड स्कुल नजिक एक घरबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

जुवाखालमा पनि भेटिने पौडेल हङकङमा करोडौं डलर तस्करी गरेको आरोपमा पक्राउ परी जेल जीवन बिताएर छुटेका व्यक्ति हुन् । उनी त्यतिबेला अदालतमा ठूलो सेटिङ मिलाएर छुटेको उनकै समकक्षीहरु बताउँछन् ।

ऊन आयातको एलसी तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंकबाट लगातार खोल्ने र ऊन भने आयात नै नहुने गरेको पाइएपछि पौडेललाई २०५९ मा राजस्व अनुसन्धान विभागले पक्राउ गरी मुद्दा चलाएको थियो ।

पौडेलले सोलु र पर्साका विभिन्न ब्यक्तिका नाममा कम्पनी खोलेर ऊन आयातको एलसी खोल्ने र डलर तस्करी गर्ने गरेका थिए ।

अवैध रकम बरामद भएदेखि नै फरार भएका पौडेलले भित्रभित्रै मिलाउने प्रयास गरिरहेका थिए । उच्च राजनीतिक दबाब दिएर प्रहरीमा मिलाउने कोशिस गरेर पनि उनी सफल हुन भने सकेनन् ।

प्रहरीले चैत ४ गते सोमबार राती अवैध २५ करोड विदेशी मुद्रासहित ‘फुच्चे’ भनिने कुसाङ लामालाई पक्राउ गरेको थियो ।

कपडा किन्न भन्दै चीन हिँडेको ट्रक चालक बस्ने क्याबिनको माथिल्लो भागमा फल्सबटम बनाई लुकाएको नेपाली २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँबराबरको डलर र युरोसहित चालक कुसाङ लामा पक्राउ परेका थिए ।

राजश्व अनुसन्धान विभागले अनुसन्धानका क्रममा उक्त रकम पौडेलको रहेको पुष्टि गरेको छ । पौडेललाई पक्राउ गर्नका लागि अदालतबाट पुर्जी जारी भइसकेको विभागका एक अधिकारीले बताए ।

यसअघि अवैध सुन तस्करीको मुद्दामा पाँच वर्ष जेल बसेका कुसाङले उक्त रकमबारे विस्तृत खुलासा नगरेपछि प्रहरीले अनुसन्धानको सुई व्यापारीतर्फ सोझ्याएको थियो ।

पाँच वर्षअघि पनि कुनसाङ सुनसहित पक्राउ पर्दा पौडेलको नाम जोडिएको थियो । तर, त्यतिखेर भने पौडेलले प्रहरीमा सेटिङ मिलाएका थिए । तत्कालिन अपराध महाशाखाले पौडेलको गाडी खोलेर चेकजाँच गर्दा पहिले नै सूचना चहिएका कारण पौडेल जोगिएका थिए ।

नेपालमा रक्तचन्दन तस्करी रोकिएपछि पौडेल दिल्लीमा बसेर भारतीय तस्करसँग मिली सामुद्रिक बाटो हुँदै चीनतर्फ रक्तचन्दन तस्करीको सेटिङ गर्दै आइरहेका छन् । पौडेलको दिल्लीमा अपार्टमेन्ट पनि रहेको छ । उनी अहिले पनि दिल्ली नै पुगेको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज