जनकपुरः आफ्नै श्रीमतिमाथि बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर, ६ महिना जेल, १ लाख जरिवाना



जनकपुरधाम । श्रीमतीमाथि जबरजस्ती करणी (वैवाहिक बलात्कार) गरेको अभियोगमा धनुषा जिल्ला अदालतले एक पुरुषलाई दोषी ठहर गर्दै ६ महिनाको कैद सजाय र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलासले जेठ १३ गते अभियुक्त श्रीमानलाई दोषी ठहर गर्दै सजाय निर्धारणको प्रक्रिया अघि बढाएको थियो।

त्यसक्रममा जेठ २९ गते हुने पेसीमा सजाय पूर्वको प्रतिवेदन पेश गराउने आदेश दिइएको थियो। सोही आधारमा जेठको अन्तिम शुक्रबार (२०८२ जेठ ३१ गते) अन्तिम फैसला सुनाउँदै अदालतले छ महिनाको कैद र पीडित श्रीमतीलाई एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको हो।

यो मुद्दा पहिलो पटक २०७९ चैत २१ गते दर्ता गरिएको थियो, जब पीडित श्रीमतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको उजुरी दिएकी थिइन्। त्यसपछि २०८० साउन २१ गते पहिलो पेसी बसेको थियो, जसमा अदालतले धरौटी माग गरेको थियो।

करीब ३६ पटकसम्म सुनुवाइ भएपछि बल्ल निष्कर्षमा पुगेको यस मुद्दाले वैवाहिक सम्बन्धभित्रको यौन जबर्जस्तीलाई कानुनी रूपमा कसरी हेरिन्छ भन्ने विषयमा गम्भीर सन्देश दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज