राजविराज । अस्पतालमा उपचार गराउन गएकी एक महिलामाथि बलात्कारको प्रयास आरोपमा एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ ।
सप्तरी जिल्लाको खडक नगरपालिकास्थित कल्याणपुर बजारमा रहेको एडभान्स अस्पतालभित्रै एक स्वास्थ्यकर्मीद्वारा उपचारका लागि आएकी एक दलित महिलामाथि बलात्कार प्रयास घटना सार्वजनिक भएको हो।
घटनाका आरोपित ल्याब असिस्टेन्ट श्याम कुमार मण्डललाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।
खडक नगरपालिका वडा नम्बर ८ बिसनपुरकी २१ वर्षीया पीडित दलित महिला बिहीबार राती करिब ११ बजे किड्नीको पत्थरीका कारण पिसाब अडिएर पेट दुखेपछि एम्बुलेन्सबाट उपचारका लागि एडभान्स अस्पताल पुगेकी थिइन्।
पीडित महिलाका अनुसार, अस्पताल पुगेपछि त्यहाँ कार्यरत ल्याब असिस्टेन्ट श्याम कुमार मण्डलले उनलाई भिडियो एक्स–रे कक्षमा लगेका थिए। सोही क्रममा मण्डलले आफ्नो गोप्य अंगहरूमा जथाभावी हात हाल्ने र सुम्सुमाउन थालेको उनले आरोप लगाएकी छन्। त्यसपछि मण्डलले उनलाई अर्को कोठामा लगेर पाइपमार्फत अडिएको पिसाब निकालेपछि आफूमाथि जबरजस्ती गर्न खोजेको पीडितको भनाइ छ।
महिलाले दिएको बयान अनुसार, उनी बेडमा सुतिरहेको बेला मण्डलले उनको ओठमा दाँतले टोक्न थालेपछि उनी डराएर भाग्न खोजिन्। सो क्रममा मण्डलले एक हातले उनलाई समातेर अर्को हातले आफ्नो पाइन्ट खोल्न थालेको देखेपछि उनी त्यहाँबाट भागेर ज्यान जोगाउन सफल भएको बताएकी छन्।
राति अबेर भइसकेकाले र सासूससुराले विश्वास नगर्लान् भन्ने डरले तत्काल परिवारलाई पूरै कुरा भन्न नसकेको पीडित महिलाले बताइन्। उनले बिहान पख श्रीमानलाई यसबारे जानकारी गराएपछि शुक्रबार बिहानै ईलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दर्ता गराएकी छिन्।
यता, घटनाबारे आफूलाई कुनै जानकारी नभएको अस्पतालका संचालक दुर्गानन्द साहले बताएका छन्। उनका अनुसार, बिहान प्रहरी अस्पताल आएपछि मात्र आफूले घटनाबारे थाहा पाएको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार, घटनाका आरोपित ल्याब असिस्टेन्ट श्याम कुमार मण्डललाई ईलाका प्रहरी कार्यालय कल्याणपुरले सोही बेला पक्राउ गरिसकेको छ। पीडितको जाहेरी दर्ता गरी घटनाको विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको प्रहरीले जानकारी दिएको छ।