वीरगंज । पर्साबाट चितवन सरुवा भएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले आफू चढेर गएको भाडाको स्कोर्पियोको भाडा नतिरेपछि चालक आर्थिक मारमा परेको छ। समाजमा अनुशासन र नैतिकताको प्रवचन गर्ने पदाधिकारीका यस्ता व्यवहारले “पोज भारी, डिबा खाली” भन्ने उखान सम्झन बाध्य बनाएको छ।
सरुवा अघि पर्सामा विभिन्न विवादमा परेको पृष्ठभूमिका बीच अर्यालको अन्तिम यात्रा पनि विवादरहित रहन सकेन। क्यासिनो सिफारिस प्रकरणदेखि वीरगञ्जका एक कैदीको अनाहकमै ज्यान गुमाएको मृत्यु घटनामा देखिएको अदूरदर्शिताले गृह मन्त्रालयले उनलाई भदौ ४ गते समयअगाडि नै सरुवा गरेको थियो।
यहाँबाट जाँदा पत्रकार सम्मेलन गरेर आफ्नो कमजोरी लुकाउँदै मेयर राजेशमान सिंहकै कारण आफू यस ठाउँमा बस्न नचाहेको भनेर झुटको खेती गर्दै भ्रम छरेका थिए। सोही समय यहाँबाट जाँदा उनले मधेश प्रदेश–०३–००१ च ६३९५ नम्बरको स्कोर्पियो चढेर चितवन हुँदै काठमाडौं गएका थिए। उक्त गाडी चिम्नी भट्टाका सञ्चालक धनञ्जय साहले भाडामा उपलब्ध गराएको थियो।
गाडी चालक शिवशंकर चौधरीका अनुसार भाडा र तेल खर्च गरी १९ हजार रुपैयाँ भएकोमा साहले ९ हजार तिरेका छन्। बाँकी १० हजार रकम माग्दा–माग्दा थाकेको चौधरीको गुनासो छ। धनञ्जय साहले आफ्नो तलबबाट १० हजार काटेर तिरे पनि चालकले महिनौँदेखि पाउने बाँकी रकम नपाएको बताउँछन्।
चालकले हाल चितवनमा रहेका प्रजिअ अर्याललाई घटनाबारे जानकारी गराउँदा पनि उनले वास्ता नगरेको आरोप लगाएका छन्।
घटनाले “कम्बल ओढेर घ्यू पिउने” प्रवृत्तिका प्रशासनिक अधिकारीको चरित्र कस्तो हुन्छ भन्ने झझल्को दिएको टिप्पणी स्थानीयहरूमा सुनिन थालेको छ। अंकुश दैनिकबाट साभार