वीरगंज, पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल प्रहरी र नेपाली सेना ले पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ४ र १ मा संयुक्त रूपमा पैदल गस्ती सञ्चालन गरेका छन्। निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा सतर्कता बढाइएको हो।
आइतबार सञ्चालन गरिएको गस्तीका क्रममा संयुक्त सुरक्षाटोलीले विभिन्न बस्ती, मुख्य चोक–गल्ली तथा सडक क्षेत्रको निरीक्षण गरेको थियो। टोलीले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै सुरक्षा अवस्थाबारे जानकारी आदान–प्रदान गर्नुका साथै कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल सूचना दिन आग्रह गरेको जनाएको छ।
सुरक्षा निकायका अनुसार निर्वाचन अवधिभर सम्भावित अवाञ्छित तथा आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष निगरानी व्यवस्था मिलाइएको छ। संवेदनशील मानिएका क्षेत्रहरूमा नियमित गस्ती, चेकजाँच तथा सूचनाको आदान–प्रदानलाई थप प्रभावकारी बनाइने बताइएको छ।
सुरक्षा अधिकारीहरूले निर्वाचन नजिकिँदै जाँदा सुरक्षा व्यवस्था अझ सुदृढ पारिने र आवश्यकताअनुसार थप सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिएका छन्। संयुक्त पैदल गस्ती निर्वाचन सम्पन्न नभएसम्म निरन्तर जारी रहने जनाइएको छ।
स्थानीय बासिन्दाले सुरक्षाकर्मीको सक्रिय उपस्थितिले गाउँ–टोलमा शान्ति र सुरक्षाको अनुभूति बढाएको प्रतिक्रिया दिएका छन्।
