वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकामा करार सेवामा कार्यरत ३० जना कर्मचारी हटाइएको भनिएको विषयमा नेपाली कांग्रेस पर्साका जिल्ला सहसचिव तथा छिपहरमाई गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नवीन सिंहले आपत्ति जनाएका छन्।
सिंहले आफ्नो फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै कर्मचारी नियुक्ति तथा सेवाबाट हटाउने कार्य व्यक्तिगत स्वार्थ वा राजनीतिक लाभहानिका आधारमा नभई प्रचलित कानुन, विधि र प्रक्रियाअनुसार हुनुपर्ने बताएका छन्।
भोट बैंकको स्वार्थलाई केन्द्रमा राखेर कर्मचारी नियुक्त गर्ने र स्वार्थ पूरा भएपछि विभिन्न पदमा कार्यरत कर्मचारीलाई हटाउने कार्य उचित नभएको उनको भनाइ छ। उनले रोजगारीसँग जोडिएको विषयमा सम्बन्धित कर्मचारीहरूको भविष्यलाई बेवास्ता गर्न नहुने उल्लेख गरेका छन्।
सिंहले हटाइएका कर्मचारीको विषयमा निष्पक्ष छानबिन गरी कानुनसम्मत रूपमा समस्या समाधान गर्न तथा अन्यायमा परेका कर्मचारीलाई पुनःबहाली गर्न गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि र प्रशासनसँग माग गरेका छन्।
उनले आफ्नो माग बेवास्ता गरिए शान्तिपूर्ण तथा सशक्त आन्दोलनमार्फत निर्णयको विरोध गर्दै जनतासामु सम्पूर्ण तथ्य सार्वजनिक गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।
सिंहले आफ्नो फेसबुक सन्देशमा जनताको मतको सम्मान गर्न, कर्मचारीको अधिकार सुनिश्चित गर्न तथा राजनीतिक स्वार्थभन्दा विधि र न्यायको शासन कायम गर्नुपर्नेमा जोड दिएका छन्।


तपाईको प्रतिक्रिया !