मिर्जापुरमा महाशिवरात्रिको अवसरमा भव्य भेडा कुस्ती प्रतियोगिता सम्पन्न



वीरगंज । पर्सा जिल्लाको पश्चिमी भेगस्थित छिपहरमाई गाउँपालिका–१, मिर्जापुरमा महाशिवरात्रिको पावन अवसरमा परम्परागत भेडा कुस्ती प्रतियोगिता भव्य तथा उल्लासमय वातावरणमा सम्पन्न भएको छ। धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामुदायिक एकताको प्रतीकका रूपमा आयोजना हुँदै आएको उक्त प्रतियोगिता अवलोकन गर्न नेपाल तथा भारतका हजारौं दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीय समुदायको सक्रिय सहभागिता र व्यवस्थापनमा प्रत्येक वर्ष महाशिवरात्रिको अवसरमा आयोजना गरिँदै आएको यो खेल यहाँका बासिन्दाका लागि केवल मनोरञ्जन मात्र नभई सांस्कृतिक पहिचानको उत्सवका रूपमा स्थापित हुँदै आएको छ। प्रतियोगितामा विशेष तालिम प्राप्त भेडाहरूलाई प्रतिस्पर्धाका लागि मैदानमा उतारिएको थियो। भिडन्तका क्रममा कुनै पनि गम्भीर चोटपटक नहोस् भन्ने उद्देश्यले भेडा धनी, स्थानीय स्वयंसेवक तथा गाइडहरूलाई परिचालन गरी सुरक्षा र निगरानीको विशेष व्यवस्था गरिएको थियो।

यस वर्षको प्रतियोगितामा मिर्जापुर, डकैला, प्रसौनी, डुमरा, डुमरी, भथुअवा, हरमघिया, मंगलपुर, घोडदावडा, मउराहा, गोखुला, महेशपुर, पुरैनिया, सेमरबारी, खमिया, लवठाहा, मल्दिया, केसरिया, दुर्गौलिया, वीरगंज, चिलझपटी, घोडदौडा, चरगाहा, देउरिया, पाण्डेपुर, बहुवरी, धनकुटवा, माधोपुर, डापटार, बेहरी, बागहा, लौरिया, दाम्रापुर, भेडिहर्वा, छपैनिया, बेतिया, डिके शिकरपुर, शिहपुर, कठियामठिया, देउरिया लगायतका विभिन्न गाउँ–बस्तीबाट एक सयभन्दा बढी भेडाहरू सहभागी भएका थिए। प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता भेडाका धनीहरूलाई ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन स्थानीय अगुवा अखिलेश प्रसाद यादवले गरेका थिए भने पुरस्कार वितरण वडा अध्यक्ष कामेश्वर प्रसाद यादवले गरेका थिए। कार्यक्रममा रामपुकार यादव, पूर्व वडा सदस्य राजकिशोर यादव, प्रेम यादव, बुनेला यादव, धर्मेन्द्र प्रसाद यादव, सशस्त्र प्रहरी बल बीओपी मिर्जापुरका प्रमुख प्रहरी निरीक्षक धनकुमार अधिकारी, नेपाल प्रहरीका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।

स्थानीय युवादेखि जेष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिताले कार्यक्रम अझ आकर्षक बनेको थियो। पुस्तौंदेखि चलिआएको यो परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्दै आगामी पुस्तासम्म पुर्‍याउने प्रतिबद्धता स्थानीयवासीले व्यक्त गरेका छन्।

महाशिवरात्रिको धार्मिक महत्त्वसँग जोडिएको यो भेडा कुस्ती प्रतियोगिता क्षेत्रीय सांस्कृतिक धरोहरका रूपमा स्थापित हुँदै गएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रको सामाजिक सद्भाव, आपसी भाइचारा र सांस्कृतिक आदान–प्रदानलाई सुदृढ बनाउने माध्यमका रूपमा पनि यस प्रतियोगितालाई हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज