धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न, ३१ करोड ७ लाख ९७ हजारको बजेट सर्वसम्मत पारित

न्यूज डेस्क
२०८३ आश्विन २४, शनिवार ०९:०९ बजे

पर्सा, २३ असोज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि ३१ करोड ७ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।

धोबीनी गाउँपालिकाको सभाहलमा आयोजित गाउँसभाको उद्घाटन गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले दीप प्रज्वलन गरेर गर्नुभएको थियो।

गाउँसभामा उपाध्यक्ष मञ्जु देवी कुर्मीको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो। गाउँसभाबाट पाँचवटै वडाको विकास बजेट सर्वसम्मत रूपमा पारित गरिएको छ।

गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले स्वास्थ्य, शिक्षा, कृषि तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।

अध्यक्ष चौहानले राजनीतिक समस्याका कारण गाउँसभा सञ्चालनमा ढिलाइ भएको उल्लेख गर्दै गाउँसभा ढिलो भए पनि दुरुस्त आएको बताउनुभयो। गाउँसभा ढिलो हुँदा विकास निर्माणका काम तथा सर्वसाधारणको दैनिक कामकाजमा समेत असर परेको उहाँले उल्लेख गर्नुभयो।

गाउँसभा सम्पन्न भएसँगै विकास निर्माणका कामलाई तीव्रता दिने र सर्वसाधारणका कामलाई छिटोछरितो तथा प्रभावकारी बनाउने प्रतिबद्धता अध्यक्ष चौहानले व्यक्त गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवले आफूले सक्दो इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो। उहाँले आगामी दिनमा गाउँपालिकालाई स्वच्छ, समृद्ध र नमुना स्थानीय तहका रूपमा विकास गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष मञ्जु देवी कुर्मी, वडाध्यक्षहरू अबास मियाँ, देवेन्द्र पटेल, राजकिशोर पटेल, मनाउर मियाँ र बन्धु साह तेलीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा समाजसेवी श्यामकिशोर पटेल, कार्यपालिका सदस्य दिनेशप्रसाद कलवार, गाउँसभा सदस्य, महिला सदस्य, लेखापाल सोनु कुमार सोनी, शिक्षा शाखा प्रमुख जितेन्द्र चौहान, इन्जिनियर रविभूषण पटेल, योजना शाखा प्रमुख पप्पु पटेल, जिन्सी शाखा प्रमुख प्रदीप पटेल, प्रशासन शाखा प्रमुख प्रदीप गुप्ता, स्वास्थ्य शाखा प्रमुख काबिन्द्र यादव, महिला तथा बालबालिका शाखा प्रमुख सञ्जय यादव, कृषि शाखा प्रमुख रविन्द्र शर्मा, रोजगार शाखा प्रमुख दिलिप कुमार पटेल, पत्रकार तथा सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो।

कार्यक्रम सञ्चालन शिक्षा शाखा प्रमुख जितेन्द्रप्रसाद चौहानले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्