विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

NEWS DESK
२०८३ कार्तिक १२, बिहिवार १८:३२ बजे

काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिकास्थित एक सामुदायिक विद्यालयको पुस्तकालय निर्माण तथा व्यवस्थापनका लागि प्राप्त सरकारी अनुदान रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले कुशे गाउँपालिका–२ स्थित मातृदेउँडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिचन्द्र जैसी, सदस्य जनकबहादुर नेपाली, प्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धिरेन्द्रबहादुर सिंहविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०७३/७४ सम्म जिल्ला शिक्षा कार्यालयबाट प्राप्त पुस्तकालय अनुदान रकम दुरुपयोग भएको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७३/७४ मा प्राप्त अनुदान रकम आपसी मिलेमतोमा हिनामिना गरेको देखिएको आयोगको दाबी छ।

विद्यालयको पुस्तकालयका लागि उपलब्ध गराइएको सरकारी रकम निर्धारित प्रयोजनमा खर्च नगरी कानुनविपरीत ऋण सापटीका रूपमा प्रयोग गरेको र रकम बाँडफाँट गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। यसबाट विद्यालयलाई आर्थिक हानिनोक्सानी पुर्‍याई कुल १७ लाख ४१ हजार ४६४ रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ।

आयोगले तत्कालीन अध्यक्ष जैसी, प्रधानाध्यापक सिंह र लेखा सहायक सिंहविरुद्ध जनही १७ लाख ४१ हजार ४६४ रुपैयाँ बिगो कायम गरेको छ। उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा कैद, बिगोबमोजिम जरिवाना तथा हिनामिना भएको रकम असुलउपर गर्न मागदाबी गरिएको छ।

त्यस्तै, तत्कालीन विद्यालय व्यवस्थापन समिति सदस्य जनकबहादुर नेपालीविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी कैद, बिगोबमोजिम जरिवाना र हिनामिना भएको रकम असुलउपर गर्न मागदाबी गरिएको आयोगले जनाएको छ।

सरकारी अनुदान रकम निर्धारित शैक्षिक प्रयोजनमा खर्च नगरी अन्य प्रयोजनमा प्रयोग गरेको आरोपमा मुद्दा दायर गरिएको हो। अब उक्त प्रकरणमा विशेष अदालतबाट हुने न्यायिक प्रक्रियापछि आरोपितहरूको कसुर र दायित्वबारे अन्तिम निर्णय हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्