काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दा दोस्रो खेलमा चितवन राइनोज तथा सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
निर्धारित तालिकाअनुसार पहिलो खेल मध्यान्ह १२:३० बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५:०० बजे फ्लडलाइटमा खेलाइनेछ। लिग चरणको अंकतालिकामा आफ्नो स्थान बलियो बनाउन चारै टोलीका लागि आजका खेल महत्वपूर्ण रहनेछन्।
आजको पहिलो खेलमा अपराजित कर्णाली याक्स उच्च मनोबलका साथ मैदान उत्रनेछ। प्रतियोगितामा खेलेका दुवै खेलमा जित हात पार्दै ४ अंक जोडेको कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले र दोस्रो खेलमा विराटनगर किङ्ग्सलाई ४ विकेटले पराजित गरेको थियो। लगातारको जितलाई निरन्तरता दिँदै शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउने लक्ष्य कर्णालीको हुनेछ।
अर्कोतर्फ, काठमाडौं गोर्खाज प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघि खेलेको एक मात्र खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको काठमाडौं आज कर्णालीलाई हराउँदै जितको खाता खोल्ने योजनामा हुनेछ।
त्यस्तै, साँझ हुने दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। चितवनले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित निकालेको छ भने लुम्बिनी लायन्सविरुद्धको खेल वर्षाका कारण नतिजाविहीन बनेको थियो।
यता, सुदूरपश्चिम रोयल्सले तीन खेल खेल्दा एकमा जित र दुईमा हार बेहोरेको छ। पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो। तर, तेस्रो खेलमा विराटनगर किङ्ग्ससँग ३५ रनले पराजित भएको थियो।
आजको खेल जित्दै दुवै टोली अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा रहनेछन्।
यसैबीच, आइतबार भएको एकमात्र खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको थियो।


तपाईको प्रतिक्रिया !