रौतहट । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला, घोडासन ग्रामका ३३ वर्षीय टुना दास रहेका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार दिउँसो रौतहटको बौधीमाई नगरपालिका–७, बंकुलस्थित बंकुल–नरकटिया सडकखण्डबाट उनलाई पक्राउ गरिएको हो ।
प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरी टोलीले बाराबाट रौतहटतर्फ आउँदै गरेको बीआर ०५ एएफ ३७८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा नगद फेला पारेको थियो ।
प्रहरीका अनुसार दासको साथबाट एक हजार रुपैयाँका ५९३ थान र पाँच सय रुपैयाँका ८१४ थान गरी कुल १० लाख रुपैयाँ बरामद गरिएको छ ।
बरामद रकमको स्रोत खुलाउन नसकेपछि नगदसहित दासलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया !