सुनसरी । सुनसरीको धरानमा प्रतिबन्धित लागूऔषध गाँजा तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। सोमबार बिहान गाँजा तस्करी भइरहेको अवस्थामा प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी भीषणबाबू राईका अनुसार पक्राउ पर्नेमा सप्तरी डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत विशुङ्खे रहेका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ३ बजे धरान उपमहानगरपालिका–२० च्यानडाँडास्थित क्षेत्रमा गाँजा लोड भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोली घटनास्थल पुग्दा बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको अवस्थामा फेला परेको थियो। प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेको थियो।
उक्त घटनामा प्रहरीले २१० किलो गाँजा र तस्करीमा प्रयोग गरिएका दुवै स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बा १ च ५०३८ नम्बरको गाडी रामसागर यादव र को १ च ८१८२ नम्बरको गाडी राजकुमार शाहले चलाइरहेका थिए।
पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी राईले जानकारी दिए। गाँजा तस्करीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा तस्करीको सञ्जालबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


तपाईको प्रतिक्रिया !