काठमाडौं, १७ कात्तिक । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा अर्को नेकपाबीच औपचारिक रूपमा पार्टी एकताको घोषणा भएको छ।
राजधानीको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा दुवै पक्षले पार्टी एकताको घोषणा गरेका हुन्।
एकता सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र अर्को पक्षका तर्फबाट महासचिव उमा भुजेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।
दुई वामपन्थी शक्तिबीच संगठनात्मक सुदृढीकरण र राजनीतिक कार्यदिशालाई एकीकृत गर्दै अघि बढ्ने उद्देश्यले एकता गरिएको जनाइएको छ।
पार्टी एकताका लागि दुवै पक्षबीच १० बुँदे सहमति भएको छ। सहमतिअनुसार आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको पहिलो एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ।
त्यस्तै, केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय तथा केन्द्रीय कार्यसंयोजन समितिलगायत सम्पूर्ण केन्द्रीय निकायलाई आपसी समझदारी र सहमतिका आधारमा समायोजन गर्ने निर्णय गरिएको छ।
दुवै पक्षबीच भएको सहमतिले पार्टीको संगठनात्मक संरचना एकीकृत गर्दै आगामी राजनीतिक गतिविधि संयुक्त रूपमा अघि बढाउने बाटो खुलेको छ।


तपाईको प्रतिक्रिया !