काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
भूमिसुधार विभागअन्तर्गतका विभिन्न भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत रहँदा पदको दुरुपयोग गरी आचार्यले ९ करोड ७२ लाख ७१ हजार ९९८ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ।
आयोगले आचार्यसँगै उनकी श्रीमती ललिता राजभण्डारीसहित अन्य चार जनालाई पनि प्रतिवादी बनाएको छ।
अख्तियारका अनुसार आचार्य २०५४ साल माघमा खोटाङ जिल्ला विकास समितिमा गाविस सचिवका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए। २०८० साल मंसिर २१ गतेसम्म विभिन्न सार्वजनिक पदमा रहँदा उनले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा उक्त अवधिमा आचार्य र उनका एकाघर परिवारका सदस्यको वैधानिक आम्दानी ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ ४८ पैसा रहेको पाइएको छ। तलबभत्ता, पारिश्रमिक, घरजग्गा बिक्री, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त कर्जा, कृषि आय र ब्याजलगायतका स्रोतबाट उक्त आम्दानी भएको आयोगले जनाएको छ।
तर सोही अवधिमा जग्गा तथा घरजग्गा खरिद, विभिन्न कम्पनीमा लगानी, सवारीसाधन खरिद, अध्ययन खर्च, सेयर खरिद तथा बैंक र वित्तीय संस्थाको ऋण भुक्तानीलगायतमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको छ।
वैधानिक आम्दानी र खर्च तथा लगानीबीचको अन्तरका आधारमा ९ करोड ७२ लाख ७१ हजार ९९८ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको अख्तियारको निष्कर्ष छ।
आयोगका अनुसार आचार्यले उक्त सम्पत्ति श्रीमती तथा परिवारका सदस्यको नाममा राख्नुका साथै विभिन्न व्यक्ति र कम्पनीमार्फत खरिदबिक्री तथा लगानी गरेका थिए।
त्यस्तै, गैरकानुनी रूपमा आर्जित सम्पत्तिको वास्तविक स्रोत लुकाउन सम्पत्ति स्थापना, तहकीकरण र एकीकरणसमेत गरेको आरोप आयोगले लगाएको छ।
यस प्रकरणमा भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत जोडिएको अख्तियारले जनाएको छ।


तपाईको प्रतिक्रिया !