काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हालसम्म २६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको जनाएको छ।
चुनदेवीस्थित देउवा समूहको सम्पर्क कार्यालयले मंगलबारसम्म सातवटै प्रदेशका २६ जिल्लामा अधिवेशन सम्पन्न गरी जिल्ला सभापतिसहितको नेतृत्व चयन गरिएको जानकारी दिएको हो।
सम्पर्क कार्यालयका अनुसार कोशी प्रदेशका झापा, संखुवासभा, भोजपुर र ताप्लेजुङमा अधिवेशन सम्पन्न भएको छ। ती जिल्लामा क्रमशः कृष्ण हुमागाईं, रामकुमार जिमी, धर्मराज राई र अमरबहादुर सेन्दाङ जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
त्यस्तै, मधेस प्रदेशका आठ जिल्लामध्ये धनुषा र बारामा अधिवेशन सम्पन्न भएको छ। धनुषामा कोमलकान्त झा र बारामा राजेश राय यादव जिल्ला सभापतिमा चयन भएका छन्।
बागमती प्रदेशका चितवनमा मिलनबाबु श्रेष्ठ र सिन्धुपाल्चोकमा बालकृष्ण बस्नेत जिल्ला सभापतिमा निर्वाचित भएका छन्। गण्डकी प्रदेशका कास्कीमा ऋषिराम काफ्ले, म्याग्दीमा हिराबहादुर पुन र पर्वतमा यमबहादुर मल्ल (रामकृष्ण) जिल्ला सभापति बनेका छन्।
लुम्बिनी प्रदेशका कपिलवस्तुमा राजेशबहादुर सिंह, रोल्पामा मानबहादुर खत्री, प्यूठानमा देवेन्द्र वर्मा र दाङमा गोपालराज शर्मा जिल्ला सभापतिमा चयन भएका छन्।
यसैगरी, कर्णाली प्रदेशका रुकुम पश्चिममा नन्दबहादुर विष्ट, सल्यानमा दीपक चन्द, जुम्लामा नेत्रकला शाही, मुगुमा तिलकबहादुर मल्ल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटमा नगेन्द्रबहादुर विष्ट र दैलेखमा दिनेशकुमार हमाल जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
देउवा समूहको गृहप्रदेश सुदूरपश्चिमका नौ जिल्लामध्ये चार जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ। बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा बाजिसिंह खड्का (विजय), दार्चुलामा सुरेन्द्रराज अवस्थी र बैतडीमा वीरबहादुर विष्ट जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
सम्पर्क कार्यालयका अनुसार देउवाको गृह जिल्ला डडेल्धुरासहित बाजुरा, धादिङ र खोटाङमा भने जिल्ला अधिवेशन जारी रहेको छ।
१५औँ महाधिवेशनलाई लक्षित गर्दै देउवा समूहले जिल्ला तहमा संगठनात्मक गतिविधि तीव्र बनाएको छ।


तपाईको प्रतिक्रिया !