वीरगञ्ज, १७ कात्तिक । भन्सार राजस्व नतिरी लामो समयदेखि वीरगञ्जमा सञ्चालन हुँदै आएका दुईवटा भारतीय नम्बर प्लेटका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ।
पर्सा जिल्लाको ग्रामीण तथा सहरी क्षेत्रमा अनधिकृत रूपमा भारतीय नम्बर प्लेटका गाडी सञ्चालन भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँस्थित सडकबाट दुईवटा गाडी बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बरामद गरिएका सवारीसाधनमा भारतीय नम्बर प्लेटको एउटा बोलेरो र एउटा मारुती सुजुकी कार रहेका छन्। दुवै गाडी बेवारिसे अवस्थामा फेला परेका थिए।
प्रहरीले ती सवारीसाधनको हकदाबी गर्ने व्यक्तिको खोजी गरे पनि कोही सम्पर्कमा नआएपछि दुवै गाडीको मूल्यांकन २२ लाख रुपैयाँ कायम गरेको जनाएको छ।
बरामद सवारीसाधनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि मंगलबार वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।


तपाईको प्रतिक्रिया !