नेपाल संवत् नेपाली सभ्यता, सामाजिक न्याय र सहअस्तित्वको प्रतीक हो : उपराष्ट्रपति यादव

NEWS DESK
२०८३ कार्तिक २४, मंगलवार ०८:२८ बजे

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन्।

नेपाल संवत् ११४७ को शुभारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले राष्ट्रिय विभूति शङ्खधर साख्वाले लोककल्याणको भावनाबाट प्रेरित भई ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक कार्यले नेपाली समाजमा सेवा, परोपकार र सामाजिक उत्तरदायित्वको उच्च आदर्श स्थापित गरेको उल्लेख गरेका छन्।

शङ्खधर साख्वाले देखाएको मानवतावादी मार्ग आज पनि राष्ट्रिय जीवनका लागि उत्तिकै प्रेरणादायी र अनुकरणीय रहेको उनको भनाइ छ।

नयाँ वर्षले आत्मसमीक्षा, नवीन सङ्कल्प र सकारात्मक परिवर्तनको अवसर प्रदान गर्ने उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपाल संवत्ले विगतको गौरव स्मरण गराउनुका साथै वर्तमानलाई जिम्मेवार ढङ्गले आत्मसात् गर्दै भविष्यलाई उज्ज्वल बनाउने प्रेरणा दिने बताएका छन्।

उनले नेपाल संवत्ले सम्पूर्ण नेपालीमा पारस्परिक विश्वास, सामाजिक सद्भाव, सहयोग, शान्ति र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।

त्यस्तै, युवा पुस्तामा सिर्जनशीलता, उद्यमशीलता र राष्ट्र निर्माणप्रतिको प्रतिबद्धता विकास गर्न नेपाल संवत् प्रेरणाको स्रोत बन्नुपर्नेमा उनले जोड दिएका छन्।

उपराष्ट्रपति यादवले लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा राष्ट्रिय हितको संरक्षण र संवर्द्धनमा सबैलाई थप जिम्मेवार र सक्रिय बन्न पनि आह्वान गरेका छन्।

समुन्नत, समावेशी, न्यायपूर्ण र समृद्ध नेपालको साझा आकांक्षा पूरा गर्ने यात्रामा नेपाल संवत्ले सम्पूर्ण देशवासीलाई सकारात्मक ऊर्जा, प्रेरणा र आत्मविश्वास प्रदान गरोस् भन्ने कामनासमेत उनले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्