काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका मौलिक चाडपर्वहरूले आपसी रिसराग बिर्सेर सामाजिक एकता, सद्भाव र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्ने बताएका छन्।
नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले मौलिक संस्कृति र परम्पराको संरक्षणले सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने उल्लेख गरेका हुन्।
उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित नेपालको मौलिक समयचक्र र पहिचान भएको बताएका छन्।
नेवार समुदायमा हर्षोल्लासका साथ मनाइने म्हः पूजाको महत्व उल्लेख गर्दै प्रधानमन्त्री शाहले आफ्नै शरीर र शरीरभित्रको चेतनालाई साक्षी राखेर गरिने पूजाले आत्मशुद्धि र आत्मचेतनाको बोध गराउने बताएका छन्।
उनका अनुसार म्हः पूजाले नेवार समुदायमा आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै जातीय एकतालाई थप मजबुत बनाउँदै आएको छ। यो परम्परा नेपाली समाजका लागि गौरवको विषय भएको उनको भनाइ छ।
त्यस्तै, भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको पौराणिक मान्यतासँग जोडिएको गोवर्धन पूजा तथा हली तिहारको पनि उनले चर्चा गरेका छन्।
यस अवसरमा कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाउने तथा हलो, फालीलगायत कृषि औजारको पूजा गर्ने परम्परा रहेको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले भैलो र देउसीका सांस्कृतिक भाकाले छरछिमेकमा आत्मीयता, सद्भाव र आपसी सम्बन्धलाई थप सुमधुर बनाउने बताएका छन्।
उनले नेपालका मौलिक चाडपर्वहरूले समाजमा एकता, सहिष्णुता र पारस्परिक सम्मानको भावना अभिवृद्धि गर्दै सबैलाई मिलेर अघि बढ्न प्रेरित गरून् भन्ने कामना गरेका छन्।
अन्त्यमा प्रधानमन्त्री शाहले नेपाल संवत् ११४७, म्हः पूजा तथा गोवर्धन पूजाको अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।


तपाईको प्रतिक्रिया !