काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहार तथा शुभदीपावलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ।
राष्ट्रपति पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ। उहाँले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभेच्छा व्यक्त गर्नुभएको हो।
शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले तिहार सांस्कृतिक, पौराणिक तथा वैज्ञानिक महत्व बोकेको उज्यालो र प्रकाशको पर्व भएको उल्लेख गर्नुभएको छ। यस पर्वले सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिका मानिसलाई एकताको सूत्रमा बाँध्न तिहारजस्ता पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ।
उहाँले भाइटीका, म्हः पूजा, लक्ष्मीपूजा, गोवर्धन पूजा तथा देउसीभैलोजस्ता सांस्कृतिक अभ्यासले प्रेम, स्नेह, सामाजिक एकता, धर्म, दया र करुणाको सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभएको छ। साथै, मानव र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रगाढ बनाउन तिहारले महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभएको छ।
यसैगरी, उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि तिहार तथा शुभदीपावलीको अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।
उपराष्ट्रपति यादवले तिहार दीप प्रज्वलनको पर्व मात्र नभई सभ्यता, संस्कार, प्रकृतिप्रतिको सम्मान, पारिवारिक आत्मीयता र सामाजिक सहअस्तित्वको जीवन्त उत्सव भएको उल्लेख गर्नुभएको छ।
उहाँका अनुसार घरआँगनमा बालिने दीपले अन्धकार हटाउनुका साथै आशा, विश्वास, सद्भाव र मानवीय करुणाको उज्यालो फैलाउँछन्। तिहारले निराशामाथि आशा, विभाजनमाथि एकता र स्वार्थमाथि मानवताको विजयको सन्देश दिने उहाँको भनाइ छ।
विशेषगरी मधेश प्रदेशमा मनाइने गोवर्धन पूजा, सामूहिक रूपमा खेलिने हुक्कालोली (हुक्कापाती) र हुर्राहुरीलाई जीवन्त लोकसंस्कृतिका अमूल्य प्रतीकका रूपमा उपराष्ट्रपति यादवले व्याख्या गर्नुभएको छ।
उहाँले यी परम्पराले कृषि, पशुपालन तथा प्रकृतिप्रतिको सम्मान अभिव्यक्त गर्नुका साथै गाउँघरमा आपसी सद्भाव, भाइचारा, सामुदायिक एकता र सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै आएको उल्लेख गर्नुभएको छ।
राष्ट्रपति र उपराष्ट्रपतिका शुभकामना सन्देशले तिहारलाई धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहअस्तित्व र मौलिक संस्कृतिको संरक्षण गर्ने महत्वपूर्ण अवसरका रूपमा चित्रण गरेका छन्।


तपाईको प्रतिक्रिया !